बर्दिया, साउन ९ – बर्दियाको राजापुर नगरपालिका–१ दौलतपुरबाट लोपोन्मुख वन्यजन्तु ओद (Otter) को छाला सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
शनिबार साँझ करिब ४:४५ बजे जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको टोली र इलाका प्रहरी कार्यालय राजापुरबाट प्रहरी सहायक निरीक्षक लोकेन्द्र बहादुर सिंह को कमाण्डमा खटिएको ४ सदस्यीय संयुक्त प्रहरी टोलीले राजापुर नगरपालिका–१ दौलतपुर निवासी २७ वर्षीय अरुण सोनाहालाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार कर्णाली नदीको किनारमा हिँडिरहेका सोनाहामाथि शंका लागेपछि उनले बोकेको आकाशे रङको झोला जाँच गर्दा झोलाभित्र लम्बाइ ४ फिट ५ इन्च र चौडाइ ८ इन्च रहेको लोपोन्मुख वन्यजन्तु ‘ओद’को छाला फेला परेको थियो।
बरामद गरिएको छाला सहित उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय राजापुरमा राखिएको छ। घटनास्थल इलाका प्रहरी कार्यालय राजापुरबाट करिब ४ किलोमिटर उत्तर रहेको प्रहरीले जनाएको छ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।