काठमाडौं: कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ। जावलाखेलस्थित हेलिअस हस्पिटलमा उपचारका क्रममा ८३ वर्षको उमेरमा मंगलबार उनको निधन भएको हो।
कांग्रेस केन्द्रीय सदस्य प्रमोदहरि गुरागाईका अनुसार श्रेष्ठको शव बुधबार बिहान ८ बजेदेखि ११ बजेसम्म पार्टी कार्यालय सानेपामा श्रद्धाञ्जलीको लागि राखिने छ। गण्डकी प्रदेशका पूर्वमन्त्री एवं कांग्रेस नेता मेखलाल श्रेष्ठले वरिष्ठ नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन भएको भन्दै दुःख व्यक्त गरेका छन्।
उनले श्रेष्ठको निधन जावलाखेलस्थित हेलिअस हस्पिटलमा भएको र आज बिहान ८ः०० बजेदेखि ११ः०० बजेसम्म कांग्रेस पार्टी कार्यालयमा श्रद्धाञ्जलीको लागि राखिने सामाजिक सञ्जालमा लेखेका छन्। उनले लेखेका छन्– तत्पश्चात शव यात्रासहित पशुपति आर्यघाटमा दाहसंस्कार लगिनेछ।
श्रेष्ठ २०७० को संविधानसभा चुनावमा समानुपातिक प्रणालीबाट निर्वाचित भएका थिए। उनी त्यसअघि २०४८ र २०५६ र २०६४ मा स्याङ्जाबाटै विजयी भएका थिए। उनले उपप्रधानमन्त्रीको जिम्मेवारीसहित शिक्षा, भौतिक योजना तथा निर्माण मन्त्री, वन तथा भूसंरक्षण मन्त्री र उद्योगमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्। कांग्रेसका पूर्वउपसभापतिसमेत रहेका उनी २०१७ सालदेखि नै राजनीतिक आन्दोलनमा सक्रिय थिए। श्रेष्ठ २०३६ को जनमतसंग्रह,२०४२ को सत्याग्रह,२०४६ को जनआन्दोलन र २०६२–६३ को दोस्रो जनआन्दोलनका सक्रिय रूपमा सहभागी थिए।