बुधबार, साउन १३, २०८३

सर्वदलीय बैठक सकेर सानेपा पुगे रवि लामिछाने

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका वरिष्ठ नेता स्वर्गीय गोपालमान श्रेष्ठप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालय पुगेका छन्।

सिंहदरबारमा आयोजित सर्वदलीय बैठक सम्पन्न हुनासाथ सभापति लामिछाने सानेपा पुगेर दिवंगत नेता श्रेष्ठको पार्थिव शरीरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेका हुन्।

ललितपुरको जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा मंगलबार निधन हुनुभएका नेता श्रेष्ठको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि सानेपामा राखिएको छ। सो क्रममा नेपाली कांग्रेसका सभापति गगन थापाले स्वर्गीय श्रेष्ठको पार्थिव शरीरमा पार्टीको चारतारे झण्डा ओढाएर सम्मान व्यक्त गरेका थिए।

नेपाली राजनीतिमा लामो योगदान पुर्‍याएका, तत्कालीन नेपाली कांग्रेस (प्रजातान्त्रिक) का कार्यवाहक सभापति एवं ऐतिहासिक १२ बुँदे सहमतिका हस्ताक्षरकर्तामध्येका एक नेता श्रेष्ठको आजै अन्त्येष्टि गर्ने तयारी गरिएको छ।

पार्टी कार्यालयमा राजनीतिक वृत्तका शीर्ष नेताहरू, कार्यकर्ता तथा शुभेच्छुकहरूको बाक्लो उपस्थिति रहेको छ।