काठमाडौं । ‘म तहसीलदार बोल्दैछु । सरकारको नयाँ योजना आएको छ । कोरोना जस्तै नयाँ रोग फैलिरहेको छ। यदि टाउको खौरिनुभयो भने रोगबाट पनि बचिन्छ र सरकारबाट १५ हजार रुपैयाँ पनि पाइन्छ।’
सरकारी अधिकारीको नाम, आफ्नै र परिवारका सदस्यहरूको सही विवरणसहित आएको एउटा फोन कलको पछि लाग्दा भारतको तामिलनाडुस्थित एउटा गाउँका सर्वसाधारण ठगीमा परेका छन्।
ठगको कुरामा विश्वास गरेर सोही गाउँका तीन जना महिलाहरूले आफ्नो कपाल खौरिएका छन्। पछि न त कुनै सरकारी योजना थियो, न त फोन गर्ने व्यक्ति तहसीलदार नै थिए भन्ने कुरा खुल्यो।
यो घटना तामिलनाडुको सेलम जिल्लास्थित अत्तुर नजिकै रहेको पुथुकोथमपाडी गाउँको हो। आइतबार राति करिब ८ बजे स्थानीय बासिन्दा पलानीअम्मलको मोबाइलमा एउटा अज्ञात नम्बरबाट फोन आयो। फोन गर्ने व्यक्तिले आफूलाई अत्तुर तहसील कार्यालयको ‘तहसीलदार’ भनी परिचय दियो।
उक्त व्यक्तिलाई पलानीअम्मलको नाम मात्र नभई उनका परिवारका सदस्यहरूको नामसमेत थाहा थियो। त्यसपछि उसले डर र लोभको जाल फ्याँक्दै भन्यो- ‘कोरोना जस्तै एउटा नयाँ सङ्क्रामक सरुवा रोग मानिसको कपालमार्फत फैलिरहेको छ। विदेशमा मानिसहरूले टाउको खौरिएर यसबाट जोगिरहेका छन्। अब तामिलनाडु सरकारले पनि कपाल खौरिने महिलाहरूलाई प्रोत्साहनस्वरूप १५ हजार रुपैयाँ दिने निर्णय गरेको छ।’
ठगले थप लोभ देखाउँदै विद्यालय तथा कलेजका छात्राहरूलाई ४५ हजार रुपैयाँ र एउटा ल्यापटप तथा पुरुषहरूलाई ६ हजार रुपैयाँ दिइने दाबी गर्यो।
ठगले सो गाउँका लागि १५ हजार रुपैयाँ अनुदान पाउने १८ वटा मात्र कोटा (टोकन) उपलब्ध रहेको र भोलिपल्ट दिउँसो २ बजे सरकारी अधिकारीहरू रकम बाँड्न गाउँ आउने शर्त राख्यो। तर, रकम पाउनका लागि पहिले नै टाउको खौरिसकेको हुनुपर्ने शर्त राखिएको थियो।
यो खबर गाउँमा आगोझैँ फैलियो। करिब २० जना मानिसहरू कपाल खौरिन तयार भए। जसमध्ये ५६ वर्षीया कावेरी, ५८ वर्षीया रामायी र ६० वर्षीया चित्राले ढिलाइ नगरी आफ्नै कपाल खौरिए।
भोलिपल्ट दिउँसो २ बजे बित्यो, साँझ पर्यो तर न त कुनै सरकारी गाडी आयो न त कुनै अधिकारी नै। जब पीडित महिलाहरूले उक्त नम्बरमा पुनः फोन गरे, मोबाइल ‘स्विच अफ’ भेटियो। त्यसपछि मात्र आफूहरू कुनै सरकारी योजनाको लाभार्थी नभई ठगीको शिकार भएको उनीहरूले महसुस गरे।
घटनाको वास्तविकता थाहा पाएपछि अन्य गाउँलेले कपाल खौरिने निर्णय रद्द गरे। हाल अत्तुर ग्रामीण प्रहरीले घटनाको गम्भीर अनुसन्धान सुरु गरेको छ। प्रहरीले फोन गर्ने व्यक्तिको पहिचान खोज्नुका साथै गाउँलेहरूको व्यक्तिगत विवरण सो ठगसम्म कसरी पुग्यो भन्ने विषयमा छानबिन गरिरहेको छ। प्रहरीले यस्ता अस्वाभाविक र शङ्कास्पद फोन कलहरूको पछि नलाग्न सर्वसाधारणमा अपीलसमेत गरेको छ।