शुक्रबार, भदौ ५, २०८३

मधेसबारे पोखरेलको भनाइले किन मच्चियो विवाद?

काठमाडौँ– तराई-मधेसमा चर्किएको तनाव र सम्भावित हिंसात्मक अवस्थालाई समयमै प्रभावकारी संवादमार्फत समाधान गर्न सरकार सफल भएपछि राजनीतिक वृत्तमा यसको चर्चा चुलिएको छ। तर, सरकारको यो कदम र सफलतालाई लिएर प्रमुख प्रतिपक्षी नेकपा एमालेका महासचिव शंकर पोखरेलले भने गैरजिम्मेवार र हलुका टिप्पणी गरेको भन्दै आलोचना सुरु भएको छ।

तराई मधेसको परिस्थितिलाई राजनीतिक हिंसाको रूप लिन नदिन प्रधानमन्त्री बालेन शाहको विशेष योजनामा गृहमन्त्री सुदन गुरुङ आफैँ मैदानमा खटिएका थिए। गृहमन्त्री गुरुङले लगातार चार दिनसम्म विराटनगर, सुनसरी, सिरहा र धनुषाका विभिन्न प्रभावित क्षेत्रमा पुगेर स्थानीयस्तरमै घनिभूत संवाद र गृहकार्य गरेपछि अवस्था पूर्ण रूपमा नियन्त्रणमा आएको थियो।

सरकारको यो तदारुकता र कूटनीतिक सफलतापछि अन्य कुनै प्राविधिक वा व्यावहारिक खोट लगाउने ठाउँ नभएपछि एमाले महासचिव पोखरेलले सामाजिक सञ्जालमा व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्। पोखरेलले लेखेका छन्, ‘आफ्नै कार्यकर्तालाई आन्दोलनकारी बनाउने, तिनैसँग वार्ता गरेर सम्झौता गर्ने, अनि हिंसाको दोष चाहिँ अरूमाथि थोपर्ने यो जुक्ति गजबको छैन त?’