काठमाडौँ । नेपाली कांग्रेसका नेता उमाकान्त चौधरीले पार्टीभित्रको आन्तरिक लोकतन्त्र, न्याय र त्यागको भावनालाई व्यवहारमा उतार्न व्यापक रूपान्तरण र सुदृढीकरण अभियान आवश्यक रहेको बताएका छन्।
शनिबार काठमाडौँमा आयोजित पार्टीको संस्थापनइतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले कांग्रेसलाई जीवन्त राख्न गुटबन्दी र नातावादभन्दा माथि उठेर विधि, पद्धति र योग्यताका आधारमा पार्टी सञ्चालन गर्नुपर्नेमा जोड दिएका हुन्।
नेता चौधरीले पार्टीको गौरवमय इतिहास र वर्तमान साङ्गठनिक यथार्थबिच ठूलो खाडल देखिएको भन्दै चिन्ता व्यक्त गरेका छन्। केन्द्रदेखि वडा तहसम्म पार्टी सङ्गठन गुटबन्दी, भागबन्डा र आन्तरिक द्वन्द्वमा फसेको उनले उल्लेख गरे।
पार्टीको आन्तरिक अवस्था र सञ्चालन पद्धतिका विषयमा स्पष्ट पार्दै नेता चौधरीले भने, ‘पार्टीभित्रका जायज असन्तुष्टि र फरक धारणाहरू नै नेपाली कांग्रेसलाई जीवन्त राख्ने ऊर्जा हुन्। त्यसैले गुटबन्दी र नातावादभन्दा माथि उठेर विधि, पद्धति, योग्यता र क्षमताका आधारमा पार्टी सञ्चालन गर्नुपर्छ। नेताहरूको आदर्शलाई स्मरण गरेर मात्र पुग्दैन, उहाँहरूले सिकाउनुभएको आन्तरिक लोकतन्त्र, न्याय र त्यागको भावनालाई व्यवहारमा उतार्दै पार्टीभित्र व्यापक रूपान्तरण र सुदृढीकरण अभियान आजैदेखि सुरु गर्नु आवश्यक छ।’
भेलाको उद्देश्य र पार्टीको विरासतबारे चर्चा गर्दै उनले थपे, ‘पार्टीको वृहत्तर एकतालाई व्यवहारमा संस्थागत गर्दै एकढिक्का भएर अघि बढ्नु नै यस भेलाको मुख्य उद्देश्य हो। राष्ट्रियता, लोकतन्त्र, समाजवाद र संविधानको रक्षा गर्दै सङ्कटमा रहेको नेपाली कांग्रेसलाई एकढिक्का बनाउनु आजको प्रमुख आवश्यकता हो। कुनै पनि राजनीतिक दलको जीवन्तता उसको आदर्श, सिद्धान्त र विचारलाई जनतासम्म पुर्याउने गतिशील सङ्गठनमा निर्भर हुन्छ। कांग्रेसले स्थापना कालदेखि नै विचार र सङ्गठनको बलमा मुलुकका राजनीतिक आन्दोलनको नेतृत्व गर्दै आएको छ। तर अहिले पार्टीको गौरवमय विरासत र वर्तमान साङ्गठनिक अवस्थाबिच ठूलो खाडल देखिएको छ। केन्द्रदेखि वडा तहसम्म गुटबन्दी, भागबन्डा, तदर्थवाद र आन्तरिक द्वन्द्व देखिनु चिन्ताको विषय हो।’
यसैबिच नेता चौधरीले गत वर्षको भदौ २३ र २४ गते राजधानीमा भएका घटनाहरूको आलोचना गरेका छन्। सुशासन र भ्रष्टाचारविरुद्ध नयाँ पुस्ताले गरेको शान्तिपूर्ण प्रदर्शनलाई केही तत्त्वहरूले भड्काएर हिंसात्मक बनाएको उनको दाबी छ। सो क्रममा भदौ २४ गते तत्कालीन पार्टी सभापति शेरबहादुर देउवा र डा. आरजु राणा देउवामाथि भएको भौतिक आक्रमण तथा पार्टीका ४८ वटा कार्यालयहरूमा गरिएको तोडफोड र आगजनीलाई उनले ‘देशघाती र सुनियोजित षड्यन्त्र’ को संज्ञा दिएका छन्।
यस्तै, बीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई जस्ता ऐतिहासिक नेताहरूको निवास तथा सालिकहरूमाथि गरिएको तोडफोडलाई उनले लोकतन्त्रमाथिको प्रहार र कांग्रेसको इतिहास मेटाउने दुष्प्रयास भएको बताएका छन्।