कञ्चनपुर । कोड फर चेन्ज–फारवेस्टको आयोजनामा महेन्द्रनगरमा ‘कोड फेस्ट : प्रोभिन्सियल लेभल आइडियाथन एन्ड आइडिया शोकेस’ सम्पन्न भएको छ। शनिबार आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रदेशका प्रविधि, सिर्जनशीलता तथा नवप्रवर्तनमा रुचि राख्ने युवाहरूले आफ्ना नवीन अवधारणा प्रस्तुत गरेका थिए।
प्रतियोगितामा विभिन्न ६ वटा टिमले सहभागिता जनाएका थिए। प्रतिस्पर्धाबाट गौरव कठायत, कृतिक श्रेष्ठ, गजेन्द्र अवस्थी र प्रदीप पन्त रहेको टेम्पेस्ट ट्रान्जिस्टर्स टिमले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेको छ।
त्यस्तै शेखर सिंह रावल, सन्देश जोशी र सोमराज जोशीको सेफ नेपाल टिम प्रथम रनरअप बनेको छ। नितेश जोशी, उज्ज्वल सिंह महता, बृजला पाण्डे र आरती भट्ट सम्मिलित फारवेस्टियन टिमले द्वितीय रनरअपको स्थान प्राप्त गरेको आयोजकले जनाएको छ।
प्रतियोगिताको मूल्यांकन डा. गम्भीरबहादुर चन्द, उमेशराज पाण्डेय र सन्तोष बिष्टले गरेका थिए।
कार्यक्रम कोड फर चेन्ज–फारवेस्टकी प्रोजेक्ट लिड नेहा जोशीको अध्यक्षतामा तथा सुदूरपश्चिम विश्वविद्यालयकी सहायक प्राध्यापक डा. निशा भट्टको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
यस अवसरमा कोड फर चेन्ज–फारवेस्टको आधिकारिक लोगो डिजाइनमा योगदान पुर्याएको भन्दै जनसम्पर्क प्रमुख रवि भट्टलाई प्रशंसापत्र प्रदान गरिएको थियो। साथै संस्थाका लागि विशेष योगदान गरेको भन्दै उमेशराज पन्त, तेकेन्द्रप्रसाद जोशी र डा. प्रकाश दत्त भट्टलाई सम्मान गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा एसएनएससी आईटी क्लब, एसएनएससी इको क्लब, युथम्यापर्स एफडब्लूयू, नास्ट आईटी क्लब, आईसीईसी, एसओईएस र साइबर सेक्युरिटी क्लबले सामुदायिक साझेदारका रूपमा सहकार्य गरेका थिए। कार्यक्रमको सहजीकरण तथा सञ्चालन कोड फर चेन्ज–फारवेस्टका पूर्व प्रोजेक्ट लिड रोहित पालले गरेका थिए।
आयोजकका अनुसार ‘कोड फेस्ट’ युवाहरूलाई प्रविधि र नवप्रवर्तनतर्फ आकर्षित गर्नुका साथै उनीहरूको सिर्जनशील सोच, समस्या समाधान गर्ने क्षमता र नयाँ अवधारणा विकास गर्ने दक्षता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको हो। कार्यक्रममा सहभागी युवाहरूलाई आफ्ना नवीन विचार सार्वजनिक रूपमा प्रस्तुत गर्ने तथा त्यसबारे छलफल गर्ने अवसरसमेत प्रदान गरिएको थियो।