१ भदौ, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चाेक नमोबुद्ध-४ मा रहेको प्रहरी चौकी भकुन्डेका इन्चार्ज सई गणेशप्रसाद श्रेष्ठलाई स्थानीयले होटलबाट युवतीसहित रंगेहात नियन्त्रणमा लिएका छन् ।
स्थानीय नमोबुद्ध होटलबाट मध्यरातमा युवतीसहित स्थानीयले रंगेहात समातेर जिल्ला प्रहरी कार्यालय धुलिखेलमा बुझाएका हुन् । श्रेष्ठ गत जेठमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चाेकबाट उत्कृष्ट प्रहरी घोषित भएका थिए ।
जिम्मेवारी र मर्यादा बिर्सेर कानुन विपरीत कार्य गरेको भन्दै स्थानीयले श्रेष्ठलाई नियन्त्रणमा लिएका थिए । स्थानीयले नियन्त्रणमा लिएपछि जिल्ला प्रहरी कार्यालय धुलिखेलको प्रहरी टोलीले श्रेष्ठलाई जिल्ला ल्याएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चाेकका प्रमुख एसपी रबिन कार्कीका अनुसार स्थानीयले खबर गरेपछि श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय धुलिखेल ल्याइएको हो । ‘श्रेष्ठसहित दुईजना नै प्रहरी नियन्त्रणमा छन्, थप अनुसन्धान भइरहेको छ,’ एसपी कार्कीले भने ।