बिहिबार, भदौ ४, २०८३

११ हजार बढी कर्मचारी कारबाहीमा

राष्ट्रिय सतर्कता केन्द्रले प्रशासनिक ढिलासुस्ती र अनुशासनहीनता अन्त्य गर्न अनुगमन र कारबाहीलाई तीव्र बनाएको छ । अनुशासन पालना नगर्ने कर्मचारीलाई केन्द्रले धमाधम कारबाही गरिरहेको छ ।

केन्द्रका अनुसार पछिल्लो साढे चार महिना (चैतदेखि साउनसम्म) मा नौं सय २४ वटा सरकारी कार्यालयमा अनुगमन गरिएकोमा ११ हजार बढी कर्मचारी कारबाहीमा परेका छन् । जसमा आचारसंहिता उल्लंघन गर्ने दश हजार दुई सय ६८, तोकिएको पोशाक नलगाउने ६ सय ४५ र कार्यकक्षमा अनुपस्थित ९१ गरी ११ हजार चार जना कर्मचारी छन् ।

अघिल्लो वर्षको यही अवधिमा तीन सय १८ वटा कार्यालय अनुगमन गर्दा दुई हजार सात सय ७५ जना कर्मचारी कारबाहीमा परेका थिए । यस्तै, चैतदेखि साउनसम्म एक हजार दुई सय ९८ वटा उजुरी परेकोमा एक हजार एक सय १४ वटा फछ्र्यौट भइसकेको कार्यालयले जनाएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ११ दशमलब ७२ प्रतिशत बढी हो ।

कार्यालयले सरकारी निकायमा भ्रष्टाचार भएको, कर्मचारीले आचारसंहिता पालना नगरेको वा शंकास्पद सम्पत्ति रहेको सूचना थाहा भएमा हटलाइन नम्बर ०१४२००३४५ मा खबर गराउनसमेत आग्रह गरेको छ ।