सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले असोज दोस्रो साताभित्रै बजेट ल्याउने तयारी भइरहेको बताएका छन् । ‘त्यो भन्दा ढिलो गर्ने अवस्था छैन,’ उनले भनेका छन् ।
मुख्यमन्त्री भट्टले यसअघि भदौ मसान्तभित्र बजेट ल्याउने बताएका थिए । उनले अनेक राजनीतिक सन्दर्भहरु मिलाउन समय लागेको बताए । आर्थिक मामिला मन्त्रालयले बजेट निर्माण मार्गनिर्देशन मन्त्रालयहरुलाई दिइसकेको उल्लेख गर्दै असोज सात गतेदेखि सांसदहरुका योजना सिफारिस माग्ने तयारी रहेको बताए । ‘अबको तीन-चार दिनमा धेरैजसो काम पुरा होला भन्ने सोच्या छौं,’ मुख्यमन्त्रीले भने ।
सुदूरपश्चिम साउनदेखि बजेट ‘होलि डे’ मा छ ।
मुख्यमन्त्रीले राजनीतिक सन्दर्भहरु मिलाइएको बताएपनि कतिपय खटपटहरु भने कायमै रहेको देखिएका छन् । कति आकारको बजेट ल्याउने, सांसदहरुलाई योजना सिफारिसका लागि यसअघिको सरकारले दिएको सात र पाँच करोड बजेट दिने कि घटाउने, मन्त्रालयमा सचिव पठाउने लगायतका सवालहरु भने नटुंगिएको सरकार सम्बद्ध पदाधिकारीहरु बताउँछन् ।