बिहिबार, अशोज २२, २०८३

सुदूरपश्चिम प्रहरीमा दशैँ फेरबदल: नाका इन्चार्ज फेरिए, ‘घुमुवा’ परिचालन

धनगढी: दशैँ नजिकिदै जाँदा सुदुरपश्चिम प्रदेश प्रहरीले नाकाका इन्चार्ज परिवर्तन देखी घुमुवा खटाउन सुरु गरेको छ । हालै धनगढीको त्रिनगर प्रहरी चौकी देखी बिभिन्न चौकी इन्चार्ज फेरिसकेको प्रहरीले अब घुमुवा समेत खटाउन थालेको छ । नेपाल प्रहरीमा सादा पोसाकमा प्रहरी परिचालन नगर्ने विषय पटक–पटक उठ्दै आए पनि सुदूरपश्चिम प्रदेशमा भने प्रहरीको ‘घुमुवा टोली’ परिचालन गरिएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरीको कमान्ड सम्हालेपछि डीआईजी सानुराम भट्टराईले प्रदेशमा जनशक्ति हुँदाहुँदै काठमाडौंमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) विनोद श्रेष्ठलाई ल्याएर घुमुवा टोलीको जिम्मेवारी दिएको स्रोतको दाबी छ। श्रेष्ठ हाल सुदूरपश्चिमका डीआईजीको सचिवालयमा कार्यरत रहेको र उनैलाई अन्यत्रबाट काजमा सुदूरपश्चिम ल्याएर घुमुवा टोलीको इन्चार्ज बनाइएको स्रोतको भनाइ छ।

दसैं–तिहारको मुखमा गठन गरिएको उक्त टोलीले सादा पोसाकमा रहेर विभिन्न स्थानमा सूचना संकलन तथा निगरानी गर्ने गरेको बताइएको छ। तर, टोली गठन भएको केही समयमै उजुरी परेपछि भने उनीहरू दिउँसो कार्यालयमा बस्ने र रातिको समयमा मात्रै परिचालन हुने गरेको स्रोतको दाबी छ।

नेपाल प्रहरीमा घुमुवा प्रहरी परिचालनको विषय नयाँ भने होइन। अपराध अनुसन्धान तथा सूचना संकलनका लागि सादा पोसाकमा प्रहरी खटाउने अभ्यास रहे पनि यसको दुरुपयोग भएको भन्दै प्रहरी प्रधान कार्यालयदेखि गृह मन्त्रालयसम्मबाट पटक–पटक घुमुवा प्रहरी हटाउने निर्देशन हुँदै आएको छ। तत्कालीन गृहमन्त्री रवि लामिछानेको कार्यकालमा देशभरका करिब ५ सय घुमुवा प्रहरी हटाइएको थियो।

सुदूरपश्चिममा पनि सीमा क्षेत्रबाट हुने तस्करी तथा अवैध गतिविधि नियन्त्रणका लागि नियमित प्रहरी संरचना र जनशक्ति हुँदाहुँदै छुट्टै घुमुवा टोली परिचालन गरिएको विषयले प्रश्न उठाएको छ।

विशेषगरी टोली गठनको प्रक्रिया, जिम्मेवारी तोकिएका प्रहरीको छनोट र उनीहरूको कार्यक्षेत्रबारे पारदर्शिताको प्रश्न उठेको हो। यस विषयमा सुदूरपश्चिम प्रदेश प्रहरीका निमित्त प्रवक्ता प्रहरी उपरीक्षक महेन्द्र नेपालसँग बुझ्दा उनले घुमुवा टोली परिचालनबारे आफूलाई जानकारी नभएको बताए। उनले यस विषयमा डीआईजी सानुराम भट्टराईलाई नै जानकारी हुने भएकाले उनैसँग बुझ्न आग्रह गरे।