धनगढी, १७ असोज । धनगढीको त्रिनगर भन्सार क्षेत्रमा ड्युटीमा खटिएका प्रहरी सहायक हवलदार लक्ष्मण चौधरीलाई कारमा राखेर अपहरण गर्ने प्रयास भएको आरोप लागेको छ।
प्रहरीका अनुसार नशालु पदार्थ सेवन गरेको अवस्थामा भेटिएका दुई जनालाई नियन्त्रणमा लिएर चौकीतर्फ लैजाने क्रममा उनीहरूले प्रहरी सवार कार नै तीव्र गतिमा हुइँकाएका थिए। कार तीव्र गतिमा गुडाएपछि प्रहरी सहायक हवलदार चौधरी ठूलो दुर्घटनाबाट जोगिएका छन्।
प्रहरी सवार कार पक्की कुवा क्षेत्रतर्फ पुगेपछि नियन्त्रणमा आएको बताइएको छ। घटनामा संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अर्का व्यक्ति फरार रहेको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरीले फरार व्यक्तिको खोजी गर्नुका साथै घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ। प्रहरीका अनुसार नियन्त्रणबाट उम्किन खोज्ने क्रममा घटनामा संलग्न व्यक्तिहरूले कार हुइँकाएका थिए।