धनगढी– भारतकी आध्यात्मिक तथा सामाजिक अभियन्ता माता अमृतानन्दमयी देवीले आफ्नो ७३औँ जन्मदिन तथा विश्व सेवा दिवसको अवसरमा नेपालका बाढी तथा पहिरोपीडितका लागि तीन करोड २० लाख रुपैयाँ सहयोग प्रदान गरेकी छन् । प्राकृतिक विपद्बाट प्रभावित नेपाली नागरिकको राहत, पुनस्र्थापना तथा मानवीय सहयोगका लागि उक्त रकम उपलब्ध गराइएको हो ।
प्राप्त विवरणअनुसार माता अमृतानन्दमयी देवीले नेपालका बाढी तथा पहिरोपीडितलाई सहयोगस्वरूप दुई करोड भारतीय रुपैयाँ प्रदान गरेकी हुन् । उक्त रकम नेपाली रुपैयाँमा करिब तीन करोड २० लाख बराबर हुने जनाइएको छ । सहयोग रकम नयाँ दिल्लीस्थित नेपाली राजदूतावासमार्फत नेपाललाई हस्तान्तरण गरिएको हो ।
उक्त रकम नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत डाक्टर सुरेन्द्र थापामार्फत हस्तान्तरण गरिएको जनाइएको छ । प्राकृतिक विपद्का कारण ठूलो संख्यामा नागरिक प्रभावित भएका बेला प्राप्त सहयोगले पीडित परिवारको तत्कालीन राहत तथा पुनस्र्थापनाका प्रयासमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।
माता अमृतानन्दमयी देवीले आफ्नो जन्मदिनलाई सेवा तथा मानवीय सहयोगसँग जोड्दै विपद्मा परेका नागरिकका लागि सहयोग उपलब्ध गराएकी हुन् । उनका तर्फबाट प्रदान गरिएको रकम विशेषगरी विपद्बाट प्रभावित परिवारलाई राहत तथा पुनस्र्थापनामा उपयोग गर्ने उद्देश्य राखिएको बताइएको छ ।
विश्वविख्यात आध्यात्मिक तथा सामाजिक अगुवा माता अमृतानन्दमयी देवीको प्रेरणाबाट भारतमा अमृता अस्पताल सञ्चालन हुँदै आएको छ । उक्त अस्पताललाई दक्षिण एसियाकै ठूला अस्पतालमध्ये एकका रूपमा प्रस्तुत गरिएको छ । अस्पतालले नेपालसहित विभिन्न देशबाट उपचारका लागि आउने बिरामीलाई लक्षित गरी अन्तर्राष्ट्रिय बिरामी सेवासमेत सञ्चालन गर्दै आएको जनाएको छ ।
अमृता अस्पतालका सिनियर म्यानेजर तथा इन्टरनेसनल सेल्स एन्ड मार्केटिङ विभागका अभिषेक स्वाँरले बाढी तथा पहिरोबाट प्रभावित नेपाली नागरिकलाई राहत पु¥याउने उद्देश्यले अम्माले सहयोग उपलब्ध गराएको बताए । उनका अनुसार विपद्का समयमा मानवीय सहयोगलाई प्राथमिकतामा राख्दै नेपालका प्रभावित नागरिकलाई सहयोग प्रदान गरिएको हो ।
स्वाँरका अनुसार अमृता अस्पतालले नेपाललगायत विभिन्न मुलुकबाट उपचारका लागि आउने बिरामीका लागि इन्टरनेसनल पेसेन्ट केयर विभागमार्फत विशेष व्यवस्था गर्दै आएको छ । नेपाली बिरामीलाई उपचारका क्रममा भाषाको कठिनाइ नहोस् भन्ने उद्देश्यले दोभाषेको व्यवस्था, परामर्श तथा आवश्यक समन्वयका सेवासमेत उपलब्ध गराइएको उनले बताए ।