अत्तरियाः कैलालीको गोदावरी नगरपालिका–३, मालिका टोलस्थित नवज्योति माध्यमिक विद्यालयमा नवनिर्मित चारकोठे भवनको समुद्घाटन गरिएको छ। संघीय सरकार र गोदावरी नगरपालिकाको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको उक्त भवनको गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले रिबन काटेर औपचारिक रूपमा समुद्घाटन गरेका हुन्।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष चक्र नगरीको अध्यक्षतामा आयोजित समुद्घाटन समारोहमा नगर प्रमुख भट्ट प्रमुख अतिथि तथा नगर उपप्रमुख शारदा देवी रोकाया र वडा नं. ३ का अध्यक्ष तेजराज अवस्थी विशिष्ट अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा गोदावरी नगरपालिका शिक्षा शाखा प्रमुख हरिश पन्त, विभिन्न राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीयवासीको उपस्थिति रहेको थियो।
नयाँ भवन निर्माणसँगै विद्यालयको भौतिक पूर्वाधारमा थप सुधार आएको विद्यालयले जनाएको छ। पर्याप्त र व्यवस्थित कक्षाकोठाको उपलब्धताले विद्यार्थीलाई सहज र अनुकूल वातावरणमा अध्ययन–अध्यापन गर्ने वातावरण निर्माण भएको बताइएको छ।
भवन उद्घाटनसँगै विद्यालयले विज्ञान विषयको प्रयोगात्मक अभ्यासका लागि आवश्यक विज्ञान प्रयोगशाला (ल्याब) समेत सञ्चालनमा ल्याएको छ। प्रयोगशालाको सञ्चालनले विज्ञान विषयलाई पाठ्यपुस्तकमा सीमित नराखी प्रयोग, अवलोकन र अभ्यासमार्फत सिक्ने अवसर विद्यार्थीलाई उपलब्ध गराउने अपेक्षा गरिएको छ।
त्यसैगरी विद्यालयमा स्मार्ट बोर्डसहितको प्रविधिमैत्री शिक्षण प्रणालीलाई समेत प्राथमिकता दिइएको छ। आधुनिक प्रविधिको प्रयोगबाट कक्षाकोठाको सिकाइलाई थप प्रभावकारी, व्यावहारिक र विद्यार्थीमैत्री बनाउने प्रयास भइरहेको विद्यालय पक्षले जनाएको छ। भौतिक पूर्वाधार, विज्ञान प्रयोगशाला र डिजिटल प्रविधिको संयोजनले नवज्योति माध्यमिक विद्यालयलाई गुणस्तरीय तथा प्रविधिमैत्री शिक्षाको अभ्यास गर्ने शैक्षिक संस्थाका रूपमा अघि बढाउदै अगाडी बढेको जानकारी बिद्यालयकी प्रधानाध्यापक बसन्ती भट्टले बताएकी छीन ।
भवन समुद्घाटन समारोहमा बोल्दै नगर प्रमुख वीरेन्द्र भट्टले विद्यालयको भौतिक संरचनाको विकाससँगै शिक्षाको गुणस्तर सुधारलाई पनि प्राथमिकतामा राख्नुपर्ने बताए। विद्यालयमा आवश्यक पूर्वाधार निर्माणसँगै प्रविधि र प्रयोगात्मक शिक्षालाई जोड दिँदै विद्यार्थीको सिकाइ उपलब्धि बढाउने दिशामा नगरपालिका निरन्तर सहकार्य गर्ने उनको भनाइ रहेको थियो।
तेसै गरी “गोदावरीमा शिक्षा र स्वास्थ्य क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ। आवश्यकताका आधारमा बजेट विनियोजन गर्दै क्रमशः विद्यालयका पूर्वाधार र सेवाको अभाव पूर्ति गर्दै आएका छौँ। राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत यस नवज्योति माविसहित थप दुई विद्यालयमा चारकोठे भवन निर्माण सम्पन्न भएका बताएका छन्।
शैक्षिक गुणस्तर बढाउनका लागि पालिकाले १६७ जना नगर शिक्षक परिचालन गरी सामुदायिक विद्यालयमा विषयगत शिक्षकको आवश्यकता पूरा गरेको छ। पूर्वाधार विकाससँगै शिक्षाको गुणस्तर र शैक्षिक प्रगतिमा पछिल्लो समय सकारात्मक सुधार देखिएको छ। आगामी दिनमा पनि गुणस्तरीय शिक्षा र प्रभावकारी स्वास्थ्य सेवाका लागि आवश्यक स्रोत–साधन जुटाउँदै नागरिकको अपेक्षाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।”
नगर उपप्रमुख शारदा देवी रोकायाले विद्यालय विकासमा स्थानीय सरकार, शिक्षक, अभिभावक र समुदायबीचको सहकार्य आवश्यक रहेको बताइन्। विद्यार्थीलाई समयअनुकूल शिक्षा प्रदान गर्न भौतिक पूर्वाधारसँगै प्रविधि र प्रयोगात्मक अभ्यासमा पनि जोड दिनुपर्ने उनको भनाइ थियो।
वडा नं. ३ का अध्यक्ष तेजराज अवस्थीले विद्यालयको आवश्यकता र विद्यार्थीको सिकाइ वातावरण सुधारका लागि वडाबाट आवश्यक समन्वय र सहयोग जारी रहने बताए। विद्यालयको विकासलाई समुदायको विकाससँग जोडेर अघि बढाउनुपर्नेमा उनले जोड दिए।
त्यस्तै शिक्षा शाखा प्रमुख हरिश पन्तले नयाँ पूर्वाधारसँगै विद्यालयले शैक्षिक गुणस्तर अभिवृद्धिमा विशेष ध्यान दिनुपर्ने बताए। प्रयोगशाला र स्मार्ट बोर्डजस्ता प्रविधिको प्रभावकारी प्रयोगले विद्यार्थीको सिकाइलाई थप व्यवहारिक र परिणाममुखी बनाउन सहयोग पुग्ने उनको भनाइ थियो।
विद्यालयले नयाँ भवन, विज्ञान प्रयोगशाला र प्रविधिमैत्री शिक्षण प्रणालीलाई प्रभावकारी रूपमा सञ्चालन गर्दै विद्यार्थीको सर्वाङ्गीण शैक्षिक विकासमा केन्द्रित हुने जनाएको छ।
