सोमवार, अशोज १९, २०८३

२४ न्यूज कप फुटसलको दोस्रो संस्करण असोज २४ र २५ गते

धनगढी । खेलकुदको प्रवर्द्धन, युवा सशक्तीकरण तथा स्वस्थ समाज निर्माणको सन्देश दिने उद्देश्यसहित ‘कल २४ न्यूज कप फुटसल टुर्नामेन्ट–२०८३’ को दोस्रो संस्करण आयोजना हुने भएको छ।

कल २४ न्यूज प्रा.लि.को आयोजनामा हुने प्रतियोगिता असोज २४ र २५ गते धनगढीस्थित वाल्मीकि फुटसलमा सञ्चालन हुनेछ। गत वर्ष पहिलो संस्करण सफलतापूर्वक सम्पन्न गरेको आयोजकले यस वर्ष प्रतियोगितालाई थप व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउने तयारी गरेको जनाएको छ।प्रतियोगितामा पुरुष र महिला गरी दुई विधामा प्रतिस्पर्धा हुनेछ। पुरुषतर्फ ३० वर्ष वा सोभन्दा माथिका खेलाडी सहभागी हुनेछन् भने प्रत्येक टोलीमा ३० वर्षमुनिका एक जना खेलाडीलाई समेत समावेश गर्न सकिने व्यवस्था गरिएको छ। पुरुषतर्फ प्रत्येक टोलीमा सात जना खेलाडी रहनेछन्।

त्यस्तै, महिला विधामा उमेरको कुनै हदबन्दी नरहने गरी खुला प्रतिस्पर्धा आयोजना गरिएको छ। महिला टोलीमा पनि सात जना खेलाडी रहनेछन्।
प्रतियोगिताको पुरुषतर्फ विजेताले रु. ५० हजार ५५ तथा उपविजेताले रु. ३० हजार ५५ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन्। महिला विजेताले रु. २२ हजार २२२ तथा उपविजेताले रु. ११ हजार १११ नगद पुरस्कार पाउनेछन्।

यस्तै, व्यक्तिगत विधातर्फ पुरुषमा बेस्ट किपर, बेस्ट डिफेन्डर र टुर्नामेन्ट अफ द सिरिज घोषित खेलाडीलाई जनही रु. २ हजार ५०० तथा महिलातर्फ उत्कृष्ट विधाका खेलाडीलाई जनही रु. १ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतियोगिताका खेलहरू कल २४ न्यूजका आधिकारिक डिजिटल माध्यममार्फत प्रत्यक्ष प्रसारण गरिनेछ। प्रतियोगितामार्फत स्थानीय स्तरमा फुटसल तथा खेलकुद संस्कृतिको विकाससँगै युवालाई सकारात्मक र स्वस्थ गतिविधिमा जोड्ने लक्ष्य आयोजकले लिएको छ।
आयोजक कल २४ न्यूज प्रा.लि.ले प्रतियोगिताको समाचार तथा प्रचार–प्रसारमा सहयोग गरिदिन सञ्चारकर्मी तथा सञ्चारमाध्यमलाई आग्रह गरेको छ।