मङ्लबार, अशोज २०, २०८३

लोक तथा दोहोरी गीत प्रतिष्ठानको सुदूरपश्चिम कार्यालयमा तोडफोड र चोरी

धनगढी । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, सुदूरपश्चिम प्रदेश कार्यसमितिको कार्यालयमा गएराति तोडफोड तथा चोरी भएको छ।

कार्यालयमा अज्ञात व्यक्तिहरूले प्रवेश गरी तोडफोड गर्नुका साथै कार्यालयमा रहेका विभिन्न सामग्री तथा महत्वपूर्ण सामान चोरी गरेको प्रतिष्ठानले जनाएको छ। घटनाले सुदूरपश्चिमको लोक तथा सांस्कृतिक क्षेत्रमा क्रियाशील संस्था नै असुरक्षित बन्दै गएको भन्दै प्रतिष्ठानका पदाधिकारी तथा सदस्यहरूले चिन्ता व्यक्त गरेका छन्।

प्रतिष्ठानले घटनामा संलग्न व्यक्तिहरूको यथाशीघ्र पहिचान गरी पक्राउ गर्न तथा प्रचलित कानुनबमोजिम कडा कारबाही गर्न सम्बन्धित सुरक्षा निकायसमक्ष जोडदार माग गरेको छ।

सामाजिक तथा सांस्कृतिक संस्थाको कार्यालयमा भएको यस्तो तोडफोड र चोरीको घटनाले समाजमा अराजक गतिविधि बढ्दै गएको संकेत गरेको भन्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन प्रतिष्ठानले आग्रह गरेको छ।

घटनाबारे सम्बन्धित निकायले आवश्यक अनुसन्धान तथा छानबिन अघि बढाउनुपर्नेमा प्रतिष्ठानले जोड दिएको छ।