सुदूरपश्चिम रोयल्स सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा प्लेअफ पुग्ने पहिलो टोली बनेको छ। शनिबार साविक विजेता जनकपुर बोल्ट्सलाई पराजित गर्दै पाँचौं जित दर्ता गरेपछि साविक उपविजेता सुदूरपश्चिमले लिग चरणमा दुई खेल बाँकी रहँदै शीर्ष चारमा स्थान पक्का गरेको हो।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जनकपुरले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १७.४ ओभरमा ४ विकेट गुमाएर १४८ रन बनाउँदै पूरा गर्यो। एक रनमै दुई विकेट गुमाएको अवस्थामा इशान पाण्डे र विनोद भण्डारीले ९२ रनको महत्वपूर्ण साझेदारी गरी जितको आधार तयार पारे। इशानले ३५ बलमा ५ चौका र १ छक्कासहित ५६ रन बनाए भने विनोदले ४९ बलमा ४२ रन जोडे। अन्त्यतिर हर्मित सिंहले १० बलमा अविजित २५ रन जोड्दै टोलीलाई जित दिलाउन मद्दत गरे।
जनकपुरका माज सदाकतले २ विकेट लिए। साविक विजेता जनकपुरको यो चौथो लगातार हार हो, जसपछि उनीहरू लिग चरणबाटै बाहिरिने संघारमा पुगेका छन्। प्लेअफमा पुग्न अब जनकपुरले बाँकी तीन खेल जित्नै पर्ने र अन्य टिमको नतिजा पनि अनुकूल हुनुपर्नेछ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले सञ्जय कृष्णमूर्तिको अर्धशतकमा ८ विकेट गुमाएर १४५ रन बनाएको थियो। कृष्णमूर्तिले ५० रन बनाए भने जान लफ्टी इटनले ३९ रन जोडे। सुदूरपश्चिमका अविनाश बोहराले ४, स्कट कुगेलेइनले ३ र कप्तान दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए।