डोटीमा भलिबल प्रशिक्षक तालिम, ९ जिल्लाबाट प्रशिक्षार्थी सहभागी
बीपीनगर –
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ डोटी जिल्लामा भव्य र उत्साहपुर्ण रूपमा भलिबल आधारभूत प्रशिक्षक प्रशिक्षण तथा खेल विज्ञान तालिम सुरु गरिएको छ।
डोटी जिल्ला खेलकुद समितिको आयोजनामा तथा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को विशेष सहयोगमा सञ्चालन भएको यो तालिम मङ्सिर २१ गतेदेखि २७ गतेसम्म चल्नेछ।
तालिम बडी केदार गाउँपालिका–१, विपीनगर, डोटीमा सुरु भएको हो। कार्यक्रममा ९ जिल्लाबाट प्रशिक्षार्थीहरू सहभागी भएका छन् भने भलिबल आधारभूत प्रशिक्षक प्रशिक्षणमा ३५ जना प्रशिक्षार्थीले सहभागिता जनाएका छन्।
उद्घाटन समारोहमा डोटी जिल्ला खेलकुद समितिका अध्यक्ष प्रकाश शाहीले खेलकुदलाई जिल्लाको पहिचान बनाउने उद्देश्यसहित यस्तो स्तरीय तालिम आयोजना गरिएको बताए।
सभापति शाहीले भने,
“डोटीलाई खेलकुदको हब बनाउन हामी प्रतिबद्ध छौँ। प्रशिक्षक उत्पादन भएपछि गाउँ–गाउँमा भलिबलको स्तर अझै उकालो लाग्नेछ।”
कार्यक्रमका प्रमुख अतिथि—सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव रवि खड्काले प्रदेशभर खेलकुद संरचना र जनशक्ति विकासलाई प्राथमिकतामा राखिएको बताउँदै तालिमलाई ऐतिहासिक अवसरको रूपमा व्याख्या गरे।
सदस्य–सचिव खड्काले भने,
“प्रशिक्षित जनशक्ति नै खेलकुद विकासको मेरुदण्ड हो। डोटीबाट सुरु भएको यस्तो सक्रियतालाई प्रदेशस्तरमै उदाहरणीय कदमको रूपमा लिनेछौँ।”
यो तालिमले प्रशिक्षार्थीहरूमा उच्च उत्साह जगाएको छ। आयोजकहरूले तालिमले स्थानीयदेखि प्रदेशस्तरसम्म भलिबल खेलको भविष्य सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।