धनगढी – धनगढी उपमहानगरपालिका–१७, उत्तरखैरेनी मुक्त कमैया शिविरका १० वर्षीय तनुज चौधरीको हत्या प्रकरणको अनुसन्धानका क्रममा ४ जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार तनुज बेपत्ता भएको दिन उनीसँगै रहेका नाबालक साथीसहित चार जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ । पक्राउ पर्नेमा नाबालक, उनका बुवा दिलखुस चौधरी, विष्णु चौधरी र स्थानीय टेक कठायत रहेका छन् । घटनामा संलग्नको आशंका गरिएका २५ वर्षीय खगेन्द्र कठायत भने फरार छन् । प्रहरीले उनको खोजी तीव्र बनाएको जनाएको छ ।
घटनाको प्रकृति, पक्राउ परेकाहरूको बयान तथा प्रारम्भिक अनुसन्धानका आधारमा खगेन्द्र कठायतसहितको संलग्नतामा बालकको हत्या गरी सुनको मुन्द्रा लुटिएको हुनसक्ने प्रहरीको अनुमान छ । जिल्ला प्रहरी कार्यालयले घटनाबारे अनुसन्धान जारी रहेको र शंकास्पद व्यक्तिको खोजी भइरहेकाले अहिले नै निष्कर्षमा पुग्न नसकिने जनाएको छ ।
शुक्रबार धनगढी र गौरीगंगाको सीमा क्षेत्रमा पर्ने कालिका सामुदायिक वनभित्र वीभत्स हत्या गरिएको अवस्थामा फेला परेको तनुजको शव फेला परेको थियो । घटना स्थलमा उनी चढेको साइकल, कालो प्लास्टिकको झिल्ली तथा गंगटाका अवशेष शव नजिकै फेला परेको प्रहरीले जनाएको छ । तनुजका चप्पल पनि घटनास्थल नजिकै भेटिएका छन् ।
शव आंशिक रूपमा सड्न थालेको अवस्थामा भए पनि घटनास्थल वरपर रगतका छिटा देखिन्थे । रगतले लतपतिएका ढुंगा, कच्ची सडकदेखि शव रहेको स्थानसम्म फेला परेको प्रत्यक्षदर्शीहरूले बताएका छन् । बेपत्ता बालक जंगलभित्र हत्या गरिएको अवस्थामा भेटिएपछि कैलाली प्रहरीले घटनाको गम्भीर अनुसन्धान गरिरहेको छ । घटनास्थलको प्रकृति र प्रारम्भिक अनुसन्धानका आधारमा, बालकको हत्या गरिएको निष्कर्षमा प्रहरी पुगेको स्रोतले जनाएको छ । हत्याको कारण भने बालकले कानमा लगाएको सुनको मुन्द्रा हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
मृतककी मामली बज्यै अनितादेवी चौधरीका अनुसार तनुजले एउटा कानमा करिब एक आना बराबरको सुनको मुन्द्रा लगाएका थिए । सोही मुन्द्रा लुट्ने उद्देश्यले नातिको हत्या गरिएको आशंका गर्दै उनले दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेकी छन् । प्रहरीले पनि घटनास्थलमा बालकको कानको मुन्द्रा नभेटिएकाले लुटपाटपछि हत्या भएको हुनसक्ने जनाएको छ ।