धनगढी – कैलालीको बर्दगोरिया गाउँपालिकाका उपाध्यक्ष गणेशराज गिरीलाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले स्पष्टीकरण सोधेको छ । नेकपाले उनलाई २४ घण्टाभित्र लिखित रूपमा स्पष्टीकरण दिन निर्देशन समेत दिएको छ ।
उपाध्यक्ष गिरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा प्रतिनिधिका रूपमा सहभागी भएको भन्दै पार्टीको सुदूरपश्चिम प्रदेश समितिले उनीसँग स्पष्टीकरण मागेको हो । प्रदेश संयोजकले जारी गरेको विज्ञप्तिमा गिरी तत्कालीन नेकपा (माओवादी केन्द्र) को तर्फबाट गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएको उल्लेख छ । साथै स्पष्टीकरणमा संघीय निर्वाचनमा पार्टीका उम्मेदवारलाई सहयोग नगरेको आरोप छ ।
गिरी चितवनमा भएको रास्वपाको महाधिवेशनमा सहभागी हुन चितवन गएका कारण गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८३÷८४ को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्ने गाउँसभामा उपस्थित नभएको बताइएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार गाउँपालिकाको उपाध्यक्ष बजेट तथा कार्यक्रम तर्जुमा समितिको संयोजक रहने व्यवस्था छ ।