आइतवार, असार १४, २०८३

बालक हत्या प्रकरणमा नयाँ मोड सुन लुटिएको आशंकामा ४ जना प्रहरी नियन्त्रणमा

धनगढी  धनगढी उपमहानगरपालिका–१७ उत्तरखैरेनी मुक्त कमैया शिविरका १० वर्षीय तनुज चौधरी बुधबार दिउँसो साइकल लिएर घरबाट निस्किएका थिए। बाटोमा आफ्ना समवयस्क साथी राम चौधरी (नाम परिवर्तन) भेटिएपछि उनी गौरीगंगा नगरपालिका–६ मोयातर्फ लागेका थिए।

रामले आफ्ना बुवा दिलखुस चौधरी खेतमा रोपाइँ गरिरहेको जानकारी दिएपछि तनुज पनि उनीसँगै छुट्टाछुट्टै साइकलमा मोया पुगेका थिए।

खेतमा दिलखुस रोपाइँमा व्यस्त रहेका बेला तनुज र राम नजिकैको खोलामा गंगटा मार्न गएका थिए। उनीहरूले समातेका गंगटा दिलखुस चौधरी, रोपाइँमा सघाइरहेका विष्णु चौधरी, स्थानीय टेक कठायत र उनका छोरा खगेन्द्र कठायतले पोलेर खाएको प्रहरीले जनाएको छ। सो क्रममा उनीहरूले घरेलु मदिरासमेत सेवन गरेका थिए भने तनुज र राम पनि त्यहीँ उपस्थित थिए।

पछि दुवै बालक नजिकैको घरमा पानी पिउन गएका थिए। पानी पिएपछि उनीहरू छुट्टिएका थिए। प्रहरी स्रोतका अनुसार रामले आफू बुवासँगै फर्किने बताएका थिए भने तनुज भने एक्लै घर जाने भन्दै साँझ करिब ६ बजे साइकलमा उत्तरखैरेनीतर्फ लागेका थिए। त्यसपछि उनी घर नपुगेपछि परिवारले खोजी सुरु गरेको थियो।

परिवारको जानकारीपछि प्रहरी र स्थानीय बासिन्दाले संयुक्त रूपमा खोजी अभियान चलाएका थिए। खोजीकै क्रममा शुक्रबार धनगढी र गौरीगंगाको सीमास्थित कालिका सामुदायिक वनभित्र तनुजको शव फेला परेको हो।

प्रहरीका अनुसार कच्ची सडकबाट करिब ४० मिटर भित्र जंगलमा शव भेटिएको थियो। घटनास्थल नजिकै तनुजले चलाएको साइकल, कालो प्लास्टिकको झिल्ली, गंगटाका अवशेष तथा उनका चप्पलसमेत फेला परेका छन्।

शव आंशिक रूपमा सड्न थालेको अवस्थामा रहेको भए पनि घटनास्थल वरिपरि रगतका छिटा देखिएको प्रहरीले जनाएको छ। रगतले लतपतिएका ढुंगा तथा सडकदेखि शव रहेको स्थानसम्म रगतका चिन्ह भेटिएकाले बालकको हत्या त्यहीँ गरिएको प्रारम्भिक निष्कर्षमा प्रहरी पुगेको छ।

प्रहरी स्रोतका अनुसार प्रारम्भिक अनुसन्धानले तनुजको कानमा रहेको सुनको मुन्द्रा लुट्ने उद्देश्यले हत्या गरिएको हुन सक्ने संकेत गरेको छ। घटनास्थलमा उक्त मुन्द्रा नभेटिएकाले पनि लुटपाटपछि हत्या भएको आशंका बलियो बनेको प्रहरीको भनाइ छ।

मृतककी मामली बज्यै अनितादेवी चौधरीले तनुजले एउटा कानमा करिब एक आना बराबरको सुनको मुन्द्रा लगाउने गरेको बताउँदै त्यसकै लोभमा हत्या भएको हुन सक्ने आशंका व्यक्त गरेकी छन्। उनले दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न मागसमेत गरेकी छन्।

घटनासँग सम्बन्धित अनुसन्धानका क्रममा तनुजसँग अन्तिम पटक देखिएका नाबालक साथी, उनका बुवा दिलखुस चौधरी, विष्णु चौधरी र स्थानीय टेक कठायतलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ।

यद्यपि, घटनाका बेला गंगटा खाएका करिब २५ वर्षीय खगेन्द्र कठायत भने फरार रहेको प्रहरीको भनाइ छ। उनको खोजी तीव्र बनाइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ परेकाहरूको बयान, घटनास्थलबाट संकलित प्रमाण तथा प्रारम्भिक अनुसन्धानका आधारमा खगेन्द्र कठायतसहितको संलग्नतामा हत्या भएको हुन सक्ने आशंका गरिएको छ। यद्यपि अनुसन्धान जारी रहेकाले अहिले नै अन्तिम निष्कर्षमा पुग्न नसकिने प्रहरीले स्पष्ट पारेको छ। अनुसन्धान प्रभावित हुन सक्ने भएकाले पक्राउ परेका व्यक्तिहरूको थप विवरण पनि हाल सार्वजनिक गरिएको छैन।