धनगढी : कैलालीको गोदावरी नगरपालिका–१ अत्तरियास्थित ममता सेकुवा सेन्टरबाट प्रहरीले दुई किलोभन्दा बढी चरेससहित दुई जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार आइतबार दिउँसो गोप्य सूचनाको आधारमा लागू औषध नियन्त्रण ब्युरो महेन्द्रनगर र इलाका प्रहरी कार्यालय मालाखेतीको संयुक्त टोलीले होटलमा छापा मारेको थियो।
चेकजाँचका क्रममा होटलको पछाडिपट्टि जस्तापाताले छाएको ट्रस (कोठा) भित्र लुकाइराखिएको अवस्थामा प्लास्टिकसहित २ किलो २०५ ग्राम तथा प्लास्टिक हटाएपछि शुद्ध तौल २ किलो ९५ ग्राम चरेसजस्तो देखिने कालो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा डडेल्धुराको भागेश्वर गाउँपालिका–३ घर भई हाल गोदावरी–१ अत्तरिया बस्दै आएका ४५ वर्षीय होटल सञ्चालक शंकरकुमार शाही र कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ घर भई हाल धनगढी उपमहानगरपालिका–१ बस्दै आएका ५२ वर्षीय मिनराज भट्ट रहेका छन्।
बरामद गरिएको लागू औषधसहित दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय मालाखेतीमा राखेर लागू औषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।