धनगढी । जन्मदिनलाई केवल व्यक्तिगत खुसीमा सीमित नराखी सामाजिक सेवासँग जोड्ने उद्देश्यका साथ कैलालीका समाजसेवी तथा व्यवसायी हेमराज पन्तले अनाथ, असहायको सेवामा आर्थिक सहयोग गरेका छन्।
धनगढी- ३ निवासी पन्तले आइतबार आफ्नो जन्मदिनको अवसर पारेर मानवसेवा आश्रम, दृष्टि फाउण्डेसन र जनजाति कल्याण आश्रम (आमाको माया छात्रवास)लाई आर्थिक सहयोग प्रदान गरेका हुन्। उनले विगतजस्तै यसपटक पनि जन्मदिनमा असहाय वर्गको जीवनमा सकारात्मक योगदान पुर्याउने उद्देश्यले सहयोग गरेका हुन् ।
मानवसेवा आश्रममा आश्रित असहाय, बेसहारा तथा सडकबाट उद्धार गरिएका नागरिकको पालनपोषणमा सहयोग पुग्ने, दृष्टि फाउण्डेसनमार्फत असहाय, फरक क्षमता भएका व्यक्ति पालनपोषणमा टेवा पुग्ने तथा आमाको माया छात्रवासमा अध्ययनरत बालबालिकाको शैक्षिक तथा दैनिक व्यवस्थापनमा सहयोग पुग्ने विश्वासका साथ सहयोग गरिएको हो।
‘जन्मदिन केवल केक काटेर र भोज गरेर मनाउनुभन्दा समाजका आवश्यकता भएका व्यक्तिहरूसँग खुसी साट्न सकियो भने त्यसको छुट्टै आनन्द हुन्छ,’ पन्तले भने, ‘मेरो सानो सहयोगले केही व्यक्तिको जीवनमा सकारात्मक प्रभाव पार्न सक्यो भने जन्मदिन मनाउनुको वास्तविक अर्थ पूरा भएको ठान्नेछु।’
यस्तै, पन्तले धनगढी गौशाला (पशु कल्याण धनगढी)मा पनि सहयोग गरेका छन् । उनले विगतदेखि नै गौशालामा सहयोग गर्दै आएका छन् ।
समाजसेवामा निरन्तर सक्रिय रहँदै आएका पन्तले यसअघि पनि विभिन्न सामाजिक तथा मानवीय अभियानमा सहयोग गरेका छन्। उनले आगामी दिनमा समेत शिक्षा, स्वास्थ्य र मानवीय सेवाका क्षेत्रमा आवश्यक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।