आइतवार, असार १४, २०८३

भाटभटेनी फोटोग्राफर एसोसियसनद्वारा दृष्टि फाउण्डेशन नेपाललाई खाद्यवस्तु सहयोग

धनगढी, असार १४ – भाटभटेनी फोटोग्राफर एसोसियसनले आफ्नो नियमित सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत दृष्टि फाउण्डेशन नेपाललाई विभिन्न खाद्य सामग्री हस्तान्तरण गरेको छ।

एसोसियसनले प्रत्येक महिना सञ्चालन गर्दै आएको सामाजिक सेवामूलक कार्यक्रमअन्तर्गत आइतबार धनगढी उपमहानगरपालिका–१३ स्थित दृष्टि फाउण्डेशन नेपालमा खाद्यवस्तु सहयोग गरेको हो। कार्यक्रममा चामल, दाल, तेल, नुन, चिनी, बिस्कुटलगायत दैनिक उपभोग्य खाद्य सामग्री हस्तान्तरण गरिएको एसोसियसनले जनाएको छ।

कार्यक्रममा एसोसियसनका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो। उनीहरूले समाजमा रहेका असहाय, अपाङ्गता भएका तथा विभिन्न कारणले संरक्षणको आवश्यकता परेका व्यक्तिहरूलाई सहयोग पुग्ने उद्देश्यले खाद्य सामग्री उपलब्ध गराइएको बताए।

एसोसियसनका प्रतिनिधिहरूले सामाजिक उत्तरदायित्वलाई संस्थाको प्रमुख प्राथमिकतामध्ये एक बनाइएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता मानवीय तथा सामाजिक कार्यलाई निरन्तरता दिइने बताएका छन्। समाजका विभिन्न क्षेत्रसँग सहकार्य गर्दै सहयोग आवश्यक रहेका समुदाय र संस्थासम्म पुग्ने लक्ष्यका साथ मासिक रूपमा सामाजिक कार्यक्रम सञ्चालन भइरहेको उनीहरूको भनाइ छ।

दृष्टि फाउण्डेशन नेपालका प्रतिनिधिले सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता सहयोगले संस्थामा आश्रित व्यक्तिहरूको दैनिक व्यवस्थापनमा महत्वपूर्ण टेवा पुग्ने बताए। साथै सामाजिक संघसंस्थाहरूले देखाएको सहयोगी भावनाले समाजमा सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गरे।

भाटभटेनी फोटोग्राफर एसोसियसनले यसअघि पनि विभिन्न सामाजिक तथा मानवीय कार्यहरू सञ्चालन गर्दै आएको छ। संस्थाले आगामी महिनाहरूमा समेत शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा सहयोगमूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।