बुधबार, असार १७, २०८३

बालबालिकालाई सदस्य बनाएको आरोपमा रास्वपालाई आयोगको पुर्जी

१८ वर्षभन्दा कम उमेरका बालबालिकालाई दलको सदस्यता वितरण गरेको सार्वजनिक भएपछि राष्ट्रिय मानव अधिकार आयोगले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पत्राचार गरेको छ । बालबालिकालाई सदस्यता दिए–नदिएको यथाशीघ्र खुलाएर पठाउन भन्दै आयोगले रास्वपालाई पत्र पठाएको हो ।

१८ वर्षमुनिका बालबालिकालाई सदस्यता वितरण गर्नु मुलुकको कानुन र नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धताविपरीत हुने जिकिर गर्दै आयोगले ‘राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८’ को दफा २१(१) बमोजिम जानकारी उपलब्ध गराउन भनेको छ । ‘१८ वर्षमुनिका बालबालिकालाई सो पार्टीबाट सदस्यता वितरण गरिएको भए, त्यस्तो कार्य प्रचलित नेपाल कानुन र नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धताविपरीत हुने हुँदा उनीहरुलाई पार्टी सदस्यता वितरण भए–नभएको यथाशीघ्र विस्तृत जानकारी उपलब्ध गराउन राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ को दफा २१(१) अनुसार अनुरोध गरिएको छ’,पत्रमा भनिएको छ ।