काठमाडौँ । न्याय परिषद्ले उच्च अदालतका ५० र जिल्ला अदालतका १५७ जना न्यायाधीशको सरुवा सिफारिस गरेको छ । परिषद्को बिहीबार बसेको बैठकले न्यायाधीशहरूको सरुवासँगै विशेष अदालत, श्रम अदालत र राजस्व न्यायाधिकरणहरूमा अध्यक्ष तथा कानुन सदस्यहरू तोक्नका लागि समेत सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
न्याय परिषद्ले विशेष अदालत काठमाडौँको अध्यक्ष पदमा उच्च अदालत तुलसीपुरका न्यायाधीश वासुदेव आचार्यलाई तोक्न सिफारिस गरेको छ ।
श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत सुर्खेतका न्यायाधीश दीपेन्द्र अधिकारीलाई तोक्न सिफारिस गरिएको छ । यस्तै, राजस्व न्यायाधिकरण काठमाडौँको कानुन सदस्य एवं अध्यक्ष पदमा उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्दलाई तोक्न सिफारिस गरेको छ ।
राजस्व न्यायाधिकरण पोखराको कानुन सदस्य एवं अध्यक्ष पदमा उच्च अदालत पोखराका न्यायाधीश अन्जु उप्रेती ढकाललाई तोक्न सिफारिस गरिएको छ ।