सोमवार, साउन ११, २०८३

बझाङमा जुवातास खेलिरहेका ९ जना पक्राउ, नगद रु. ५३ हजार ९९० र तास बरामद

बझाङ, साउन ३ – बझाङको जयपृथ्वी नगरपालिका–१० चैनपुरस्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार आइतबार साँझ करिब ५ बजे प्रकाश विकको घरको कोठामा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बझाङ र वडा प्रहरी कार्यालयबाट संयुक्त रूपमा खटिएको १५ सदस्यीय प्रहरी टोलीले छापा मारेको थियो।
प्रहरी निरीक्षक उपेन्द्र तिमिल्सैनको कमाण्डमा ९ जना र वडा प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक बहादुर सिंह धामीको कमाण्डमा ६ जना गरी १५ सदस्यीय टोलीले जुवा खेलिरहेका ९ जनालाई नियन्त्रणमा लिएको हो।
प्रहरीले घटनास्थलबाट नगद रु. ५३ हजार ९९०, खुला तास ९ गड्डी (४६८ पत्ता) तथा नखोलेको १ बण्डल तास बरामद गरेको जनाएको छ।
पक्राउ परेका ९ जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बझाङको हिरासतमा राखिएको प्रहरीले जनाएको छ।