मङ्लबार, साउन १२, २०८३

धनगढी बन्दै स्वास्थ्य हब, आधुनिक उपचार सेवाको विस्तार

कैलाली- कुनै समय सामान्यदेखि जटिल उपचारका लागि भारतका सीमावर्ती शहर वा काठमाडौं धाउनुपर्ने बाध्यता सुदूरपश्चिमका नागरिकको नियति जस्तै थियो। तर अहिले अवस्था फेरिएको छ। आधुनिक प्रविधि, विशेषज्ञ चिकित्सक र सुविधासम्पन्न अस्पतालहरूको विस्तारसँगै धनगढी सुदूरपश्चिमकै स्वास्थ्य सेवाको भरोसायोग्य केन्द्रका रूपमा स्थापित हुँदै गएको छ।पछिल्ला केही वर्षमा धनगढीमा सरकारी तथा निजी स्वास्थ्य संस्थाहरूले पूर्वाधार र सेवामा उल्लेखनीय विस्तार गरेका छन्। अहिले यहाँ एमआरआई, सिटी स्क्यान, डिजिटल एक्स–रे, अत्याधुनिक प्रयोगशाला परीक्षण, आईसीयू, एनआईसीयू, डायलाइसिस, एन्डोस्कोपी, सुत्केरी सेवा, नवजात शिशु उपचार, जटिल शल्यक्रिया तथा विशेषज्ञ परामर्श सेवा सहज रूपमा उपलब्ध छन्।

धनगढीमा स्वास्थ्य सेवाको पहुँच विस्तार भएसँगै कैलाली, कञ्चनपुर, डोटी, अछाम, बाजुरा, बझाङ, डडेल्धुरा, दार्चुला, बैतडी र कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट समेत बिरामी उपचारका लागि धनगढी आउने क्रम निरन्तर बढ्दो छ। धनगढीसँगै सीमा जोडिएको भारतको उत्तरप्रदेशका विभिन्न स्थानबाट समेत बिरामीहरु आउने गरेका छन्। यसले उपचारका लागि भारत वा राजधानी काठमाडौं जानुपर्ने बाध्यता उल्लेखनीय रूपमा घटाएको छ। समय, खर्च र मानसिक तनावसमेत कम हुँदा स्थानीय नागरिक प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।