नयाँ दिल्ली । लोकसभाबाट एन्टी–पेपर लिक विधेयक पारित भएपछि भारतमा यसको प्रभावकारिता र कार्यान्वयनलाई लिएर राजनीतिक बहस तीव्र बनेको छ ।
यसैबिच, कक्रोच जनता पार्टीका संस्थापक अभिजित दीपकेले प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्र सरकारको आलोचना गरेका छन् । महाराष्ट्रस्थित आफ्नो गृहनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै दीपकेले प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल इन्स्टाग्राममा युवालाई सम्बोधन गर्दै सार्वजनिक गरेका भिडियोप्रति व्यङ्ग्य गरे ।
उनले भने, ‘मलाई लाग्छ, प्रधानमन्त्री मोदीले प्रधानमन्त्रीको पद छोडेर इन्फ्लुएन्सर बन्नुपर्छ । उहाँ त्यो काम निकै राम्रोसँग गरिरहनुभएको छ । यदि उहाँ यति राम्रो इन्फ्लुएन्सर हुनुहुन्छ भने प्रधानमन्त्रीको कुर्सी छाडिदिनु पर्छ । अरू कसैलाई काम गर्न दिनु पर्छ,’ ।
समाचार संस्था पीटीआईसँग कुरा गर्दै दीपकेले एन्टी–पेपर लिक विधेयकको प्रभावकारितामाथि पनि प्रश्न उठाए । उनका अनुसार कानुन मात्र बनाएर समस्या समाधान हुँदैन, त्यसको प्रभावकारी कार्यान्वयनका लागि जिम्मेवार निकायको नियत पनि स्पष्ट हुनुपर्छ । उनले भने, देशमा धेरै राम्रो कानुन बनेका छन्, तर कार्यान्वयन गर्ने निकाय गम्भीर नभएसम्म यस्ता कानुनले अपेक्षित परिणाम दिन सक्दैनन् ।
दीपकेले प्रधानमन्त्री मोदीले केही दिनअघि फास्ट–ट्र्याक अदालत गठन गर्ने प्रतिबद्धता जनाएको स्मरण गराउँदै पेपर लिकसम्बन्धी एउटा मुद्दाको पहिलो सुनुवाइ नै स्थगित भएको दाबी गरे । उनका अनुसार सीबीआईका वकिल अदालतमा उपस्थित नभएका कारण सुनुवाइ हुन सकेन । ‘जब कानुन कार्यान्वयन गर्ने निकाय नै गम्भीर हुँदैन, त्यस्ता कानुनको औचित्य के रहन्छ ?’ उनले भने ।
यसअघि प्रियंका गान्धी ले पनि संसदमा प्रधानमन्त्री मोदीको इन्स्टाग्राम भिडियोको आलोचना गरेकी थिइन् । उनले क्यामेराको नयाँ कोणबाट भिडियो बनाएर मात्र युवा पुस्ताको समर्थन प्राप्त गर्न नसकिने भन्दै प्रधानमन्त्रीले क्यामेराको कोण होइन, आफ्नो सोच र दृष्टिकोण परिवर्तन गर्नुपर्ने टिप्पणी गरेकी थिइन् ।