बिहिबार, अशोज १, २०८३

सुदूरपश्चिममा एक वर्षमा भएका ठूला सवारी दूर्घटनामा ४४जनाको मृत्यु

धनगढी, ३१ भदौ ÷ सुदूरपश्चिम प्रदेशमा आर्थिक वर्ष २०८२÷०८३ मा भएका ठूला सवारी दुर्घटनामा ४४ जनाको मृत्यु भएको छ । प्रहरी विवरणअनुसार प्रदेशका विभिन्न जिल्लामा भएका १४ वटा ठूला सवारी दुर्घटनामा १६२ जना घाइते भएका छन् ।
राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अतरिया अनुसार सबैभन्दा बढी मानवीय क्षति हुने दुर्घटना बझाङमा भएको थियो । बझाङतर्फ जाँदै गरेको पवनदूत यातायातको बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको थियो भने ३६ जना घाइते भएका थिए । बस सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटनामा परेको थियो ।
बैतडीमा भएका तीन ठूला दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका–८ साडीघाँटीमा जिप करिब २५० देखि ३०० मिटर तल खस्दा ६ जनाको मृत्यु र १२ जना घाइते भएका थिए । यस्तै, पाटन नगरपालिका–९ गैराखानमा यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु र २३ जना घाइते भएका थिए ।
बैतडीकै दशरथचन्द नगरपालिका–४ इश्वरीगङ्गा जाने बाटो नजिक बोलेरो दुर्घटना हुँदा १२ जना घाइते भएका थिए । सुर्नया गाउँपालिका–७भञ्ज्याङमा ईभी गाडी सडकबाट करिब २५ मिटर तल खस्दा १० जना घाइते भएका थिए ।
कैलालीमा भएका ठूला दुर्घटनामा पनि ठूलो मानवीय क्षति भएको छ । जानकी गाउँपालिका–१ धर्मापुरमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा ७ जनाको मृत्यु भएको प्रहरी विवरणमा उल्लेख छ । गोदावरी नगरपालिका–३ मा अटो र ई–रिक्सा ठोक्किंदा ४ जनाको मृत्यु र ७जना घाइते भएका थिए ।
लम्कीचुहा नगरपालिका–३ धोबेनी खोलामा मलामी बोकेर चिसापानीतर्फ जाँदै गरेको ट्रयाक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु र १२ जना घाइते भएका थिए । यस्तै, गोदावरी नगरपालिका–४ बनदेवी मन्दिर नजिक दुई मोटरसाइकल आपसमा ठोक्किँदा ३ जनाको मृत्यु र एक जना घाइते भएका थिए ।
कैलालीकै भजनी नगरपालिका–४ बिजुलियामा बस सडक किनाराको नालामा पल्टिँदा ४ जनाको मृत्यु र ९ जना घाइते भएका थिए ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ कुगडामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु र ५ जना घाइते भएका थिए । बझाङको तलकोट गाउँपालिका–५ को भित्री सडक खण्डमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु र ४ जना घाइते भएका थिए । केदारस्युं गाउँपालिका–७सुङ्गरेमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु र १२ जना घाइते भएका थिए ।
डोटीको जोरायल गाउँपालिका–१ स्थित भीमदत्त राजमार्गमा ई–हाइस अनियन्त्रित भएर पल्टिँदा २ जनाको मृत्यु र २० जना घाइते भएका थिए ।
प्रहरी विवरणमा समेटिएका यी दुर्घटनाहरूमा जिप, बस, ट्याक्टर, मोटरसाइकल, अटो, ई–रिक्सा, बोलेरो र ई–हाइस लगायतका सवारी साधन दुर्घटनामा परेका छन् । अधिकांश दुर्घटनामा सवारी अनियन्त्रित भएर सडकबाट खस्ने वा सवारी साधन आपसमा ठोक्किने अवस्था देखिएको
छ।
सुदूरपश्चिमका राजमार्गसँगै भित्री तथा कच्ची सडक खण्डमा समेत ठूला सवारी दुर्घटना हुने गरेको देखिन्छ । विशेषगरी सडकबाट तल खस्ने प्रकृतिका दुर्घटनामा ठूलो संख्यामा मानवीय क्षति भएको छ ।