नवलपुर । पूर्वी नवलपरासीमा मंगलबारदेखि हराएका बालक तीन दिनपछि सकुशल फेला परेका छन् । गैंडाकोट नगरपालिका–१४ भागराबाट हराएका दुई वर्षीय बालक शिवान तामाङ बिहीबार जंगलमा फेला परेका हुन् ।
बालक हराएपछि स्थानीय र सुरक्षाकर्मीले खोजतलास गर्दा तीन दिनपछि घरबाट करिब चार किलोमिटर टाढा रोइरहेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी अनिल पण्डितका अनुसार ५० घण्टाको निरन्तर खोजीपछि बालक रुँदै गरेको आवाज सुनेर सुरक्षाकर्मी र स्थानीयले उद्धार गरेको बताए । उद्धार गरिएका बालकको अनुहारमा चोटपटक लागेको छ । रोजगारीका क्रममा बालकका आमाबुवा भारतमा रहेकाले बालक मामाघरमा हजुरआमासँग बस्दै आएका थिए ।
गत मंगलबार हजुरआमा जङ्गलतर्फ च्याउ टिप्न गएको समयमा बालक हराएका थिए । शङ्खदेवी सामुदायिक वननजिकै रहेको घरबाट बिहान तरकारीको जोहो गर्न हजुरआमा यामकुमारी आले मगर जंगलतर्फ च्याउ टिप्न लागिन् । बालक पनि हजुरआमा पछ्याउँदै वनतर्फ लागे । छिमेकीले बालकलाई वनतर्फ गएको देखेपछि हजुरआमासँग भेट होला भन्ने सोचे । तर, हजुरआमाले नाति पछि लागेको थाहै पाइनन् । हजुरआमा एउटा बाटो र नाति अर्कोतर्फबाट जंगलभित्र पसेको प्रहरीको अनुमान छ ।