झण्डै एक महिना कारागारमा बसेर छुटेका जेनजी अभियन्ताहरुले आज पत्रकार सम्मेलन गर्ने भएका छन् । कारागारबाट अस्ति छुटेका जेनजी अभियन्ता अजय सोडारी, प्रकाश बम र सुनिल विकले पत्रकार सम्मेलनको आयोजना गरेका हुन् ।
काठमाडौंको कार्की ब्याङ्क्वेटमा आयोजित पत्रकार सम्मेलनमा गिरफ्तारी, गलत मुद्दा, कारागार बसाइँ, अदालतको आदेशलगायतका विषयमा तथ्यसहित धारणा सार्वजनिक गरिने उनीहरुको भनाइ छ । सार्वजनिक शान्तिविरुद्धको कसुरमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंले एक लाख रुपैयाँ धरौटी माग गरेको थियो । धरौटी बुझाउन नसकेपछि उनीहरुलाई सुन्धारास्थित केन्द्रीय कारागार पठाइयो ।
जिल्ला प्रशासनको आदेश गैरकानुनी र नियतवश भएको भन्दै विरजन विश्वकर्माले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरे । रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्धय शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले एक लाख धरौटी अत्यधिक र अनुचित भएको ठहर गरेको थियो ।
उक्त धरौटी आदेश उत्प्रेषणको आदेशले बदर गर्दै मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ६८ र ७२ को मर्मअनुरुप पुनःपुर्पक्षसम्बन्धी आदेश गर्न भनिएको थियो । त्यसपछि प्रशासनले धरौटी रकम घटाएर ५० हजार बनाएकोमा उनीहरुले तिर्न सकेनन् र थुनामै रहे । सो धरौटीविरुद्ध कानुन व्यवसायीहरुले काठमाडौं जिल्ला अदालतमा रिट निवेदन दायर गरे ।
जिल्ला अदालतले ५० हजार रुपैयाँ धरौटी बदर गर्दै उनीहरुलाई जनही पाँच हजार रुपैयाँ मात्र धरौटी दाखिला गराएर मुद्दा पुर्पक्ष गर्न आदेश दियो । पाँच हजार रुपैयाँ बुझाएर उनीहरु रिहा भएका हुन् ।