सोमवार, भदौ २९, २०८३

बहुमतका अर्का नेता निष्कासित

नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले पार्टीविरोधी गतिविधिमा संलग्न भएको आरोपमा अध्यक्ष मण्डलका सदस्य उदयबहादुर चलाउने ‘दीपक’लाई सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरेको छ।

पार्टीले जारी गरेको वक्तव्यमा दीपकमाथि पार्टीको नीति, विधि र निर्णयविपरीत गतिविधि गरेको, पार्टीभित्र गुटबन्दी र विभाजनको प्रयास गरेको तथा षड्यन्त्रपूर्ण गतिविधिमा मुख्य भूमिका खेलेको आरोप लगाइएको छ।

पार्टीले यसअघि पनि केही नेताकार्यकर्ताले गैरजिम्मेवार ढंगले पार्टीविरोधी गतिविधि गर्दै आएको भन्दै समय–समयमा छलफल, बहस, स्पष्टीकरण र आत्मालोचनाको अवसर दिँदै आएको थियो। तर, चेतावनी र छलफलका बाबजुद पार्टीलाई फरक दिशातर्फ लैजाने, गुटबन्दी गर्ने र विभाजनकारी गतिविधि अघि बढाइएको पार्टीको निष्कर्ष छ।

पछिल्लो समय देश बाढी र विपद्को चपेटामा परेपछि राष्ट्रिय सम्मेलन स्थगित गरी पीडित जनताको उद्धार तथा राहतमा जुट्न पार्टीले अपिल गरेको थियो। तर, उक्त अपिल र पार्टीको सर्कुलरविपरीत गतिविधि गर्दै पार्टी कार्यालयलाई जानकारी नै नदिई बैठकका लागि परिपत्र जारी गरिएको वक्तव्यमा उल्लेख छ।

दीपकलाई पार्टी विधानको भाग ५, धारा २७ बमोजिम कारवाही गरिएकाे हाे । पार्टीले आफ्ना केन्द्रीय सदस्यहरूलाई अर्थवाद, षड्यन्त्रकारी, गुटवादी, विभाजनकारी, अवसरवादी तथा अराजकतावादी गतिविधिको भ्रममा नपर्न समेत अपिल गरेको छ। वक्तव्यमा पार्टीको निर्णयप्रति सबै नेता तथा कार्यकर्तालाई जिम्मेवार र अनुशासित बन्न आग्रह पनि गरिएकाे छ ।