काठमाडौँ । काठमाडौँको कीर्तिपुरस्थित भङ्गालमा बाटोमा हिँडिरहेका महिलाहरूलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङको केदारस्यूँ गाउँपालिका घर भएर कीर्तिपुर बस्ने २२ वर्षीय सत्यराज खत्री, कञ्चनपुर घर भएका २२ वर्षीय ललित दमाई र कञ्चनपुरको कृष्णपुर–३ घर भएर कीर्तिपुर बस्दै आएका २१ वर्षीय अशोक भण्डारी छन् ।
भदौ १२ मा साँझको समयमा कीर्तिपुरको भाजङ्गल क्षेत्रमा एउटै मोटरसाइकलमा चढेको उनीहरूले बाटोमा हिँडिरहेका महिलाहरूलाई पछ्याएर फोन नम्बर माग्दै अश्लील शब्द प्रयोग गरेका हुन् । उनीहरू सुदूरपश्चिम प्रदेश–००४ प ८७८ नम्बरको मोटरसाइकलमा सवार थिए । पीडित महिलाहरूले उनीहरूले गरेको हर्कतको भिडियो कैद गरेर सामाजिक सञ्जालमा अपलोड गरेपछि प्रहरीले त्यसबारे अनुसन्धान थालेको थियो ।
उनीहरूलाई आइतबार कीर्तिपुरको विष्णुदेवी मन्दिर क्षेत्रबाट पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दानबहादुर थापाले रातोपाटीलाई बताए ।