सोमवार, भदौ २९, २०८३

कञ्चनपुरमा खैरो हिरोइनसहित चार जना पक्राउ

कञ्चनपुर: कञ्चनपुरमा प्रहरीले अवैध लागूऔषध खैरो हिरोइन (ब्राउन सुगर) जस्तो देखिने पदार्थसहित चार जनालाई पक्राउ गरेको छ।

कृष्णपुर नगरपालिका–९ पिपरियामा लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय रैकवार, कञ्चनपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले आइतबार दुई जनालाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार स्थानीय २२ वर्षीय रामलक्षी रानाको घरकोठाबाट २ ग्राम ८७० मिलिग्राम र सोही ठाउँका २० वर्षीय विशाल रानाको घरबाट १ ग्राम ९२० मिलिग्राम गरी जम्मा ४ ग्राम ७९० मिलिग्राम खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको छ।

यस्तै, बेलडाँडी गाउँपालिका–३ बनपुरुवाबाट प्रहरीले थप १० ग्राम खैरो हिरोइन जस्तो देखिने पदार्थसहित १८ वर्षीय एक किशोरलाई पक्राउ गरेको छ। भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई शंका लागेर चेकजाँच गर्दा उक्त पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सोधपुछका क्रममा उक्त पदार्थ चन्दनबस्ती टोलका २२ वर्षीय गणेश साउँदले खरिद गरी ल्याएको खुलेपछि उनलाई पनि नजिकै सडकमा पल्सर मोटरसाइकलमा पर्खिरहेको अवस्थामा पक्राउ गरिएको हो। प्रहरीले सुदूरपश्चिम प्रदेश ०१–०११ प २०५८ नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ। दुवै घटनामा बरामद लागूऔषध तथा मोटरसाइकलसहित पक्राउ परेका चारै जनामाथि प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।