धनगढी : कैलाली उद्योग वाणिज्य संघको कार्यसमितिलाई पूर्णता दिने क्रममा नयाँ मनोनयन गरिएको छ। संघको विधानको परिच्छेद ६, दफा ७ को उपदफा (१) को प्रकरण “ज” बमोजिम रिक्त रहेको मनोनित सदस्य पदमा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष श्री पुष्करराज ओझाले दुई जना प्रतिष्ठित व्यवसायीलाई मनोनीत गर्नुभएको हो।
अध्यक्ष ओझाले आफ्नो अधिकार प्रयोग गर्दै अटोमोबाइल क्षेत्रका ख्यातिप्राप्त व्यवसायी श्यामराज जोशी र लामो समयदेखि सौन्दर्य (ब्युटी पार्लर तथा कस्मेटिक) व्यवसायमा सफलतापूर्वक संलग्न रहनुभएकी उद्यमी मीनादेवी बोहरा (विष्ट) लाई संघको सदस्य पदमा मनोनीत गर्नुभएको हो।
नयाँ मनोनित सदस्यद्वय जोशी र बोहरा आआफ्नो व्यावसायिक क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका अनुभवी व्यक्तित्व हुन्। अटोमोबाइल व्यवसायी जोशीको आगमनले यस क्षेत्रका व्यवसायीका समस्या, यातायात तथा सवारीसाधनसम्बन्धी व्यापारिक मुद्दाहरूलाई संघमार्फत थप बलियो रूपमा उठाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। त्यस्तै, लामो समयदेखि सौन्दर्य व्यवसायमा आबद्ध रहनुभएकी बोहराको मनोनयनले महिला उद्यमीहरूको प्रतिनिधित्वलाई थप सबल बनाउने र महिला व्यवसाय सञ्चालकहरूको हकहितको आवाजलाई बुलन्द गर्ने विश्वास लिइएको छ।
उद्योग वाणिज्य संघका अध्यक्ष ओझाले व्यावसायिक क्षेत्रको समष्टिगत विकास, महिला उद्यमशीलताको प्रवर्द्धन र समग्र निजी क्षेत्रको सशक्तिकरणका लागि अनुभवी र कर्मठ व्यक्तिहरूलाई कार्यसमितिमा समेटिएको बताउनुभएको छ। यस किसिमको मनोनयनले संघको संस्थागत क्षमता अभिवृद्धि हुनुका साथै जिल्लाका व्यवसायीहरूको हकहित र संरक्षणमा थप ऊर्जा थपिने व्यावसायिक वृत्तमा विश्वास व्यक्त गरिएको छ।