काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सागर ढकालले आफू १८ दिनदेखि रातभर नसुती खोला किनारमा जीवन उद्धारको काममा खटिएको बताउँदै नकारात्मकता नफैलाउन आग्रह गरेका छन्।
फेसबुकमार्फत एक पोस्ट सार्वजनिक गर्दै उनले विदेशी मिडियाले इन्टरनेटमा उपलब्ध रिपोर्टहरूलाई तोडमोड गरी गलत भाष्य निर्माण गर्न खोजेको आरोप लगाएका हुन् ।
स्वदेशी तथा विदेशी मिडियाले खुट्टा तान्ने काम गरेको भन्दै ढकालले दुखेसो पोखेका छन्। आफूलाई अमेरिकी एजेन्ट भनिएको प्रसङ्गमा उनले चीन, किर्गिस्तान, भारत लगायतका देशमा काम गरेको र ती सबै रिपोर्टहरू अनलाइनमै उपलब्ध रहेको स्पष्ट पारे। आफूलाई चिनियाँ, रसियन वा भारतीय एजेन्ट जे भने पनि त्यसको प्रमाण बुझाउन तयार रहेको उनले उल्लेख गरे।
जोखिम मोलेर खोला किनारमा पानीमा भिज्दै काम गर्दा विदेशी मिडियालाई मानवता देखाउन उनले अनुरोध गरेका छन्। खुट्टा नै तान्नु परे पनि उद्धारको काम सकिएपछि तान्न उनले स्वदेशी तथा विदेशी मिडियालाई आग्रह गरे। यस्तो दैवी विपत्तिको समयमा दुःख दिनुभन्दा सहयोग गर्न र सहयोग गर्न नसके पनि नकारात्मकता नफैलाउन उनले अपिल गरे।
आफू सधैँ सकारात्मक सोचमा विश्वास गर्ने बताउँदै ढकालले आफ्ना प्रतिस्पर्धीहरूलाई कहिल्यै गाली नगरेको उल्लेख गरे। प्रदीप ज्ञवाली, चन्द्र भण्डारी वा शेरबहादुर देउवा जसलाई पनि आफूले सम्मान गर्ने गरेको उनको भनाइ छ।
सात्त्विक जीवनशैली र सकारात्मक सोच नै दीर्घकालीन शान्ति र विकासको अचुक अस्त्र भएकोमा आफू दृढ रहेको ढकालले बताएका छन्। छ जनाको जीवितै उद्धार गर्न सकिएमा त्यसले विश्वलाई नै झक्झक्याउने र त्योभन्दा ठुलो धर्म अरू केही नहुने उनले स्पष्ट पारे। निष्पक्ष जनताले सही न्याय गर्नेमा आफू ढुक्क रहेको बताउँदै उनले सबैको सहयोगको अपेक्षा गरेका छन्।