सोमवार, भदौ २९, २०८३

बाढी प्रभावितलाई स्रोतको खाँचो नहुने : प्रधानमन्त्री शाह

प्रधानमन्त्री बालेन शाहले रसुवाको आएको बाढीबाट प्रभावितको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुन नदिने प्रतिबद्धता जनाएका छन् ।

त्यस क्षेत्रका जनप्रतिनिधिसँग आज छलफल गर्दै उनले पुनःस्थापनाका लागि सरकारसँग उपलब्ध तथा दातृ निकायबाट प्राप्त स्रोतसाधन प्रयोग गर्ने तयारी भइरहेको बताए ।

छलफलका क्रममा शाहले विपद्का बेला संघ,प्रदेश र स्थानीय तहबीच तत्कालै समन्वय भएको कुरा प्रभावित क्षेत्रका जनप्रतिनिधिबाटै सुन्न पाउँदा खुशी लागेको बताए ।

‘यसअघि संघ,प्रदेश र स्थानीय तहबीच समन्वय हुँदैन भन्ने सुन्दै आएका थियौँ, तर यस विपद्मा हामी एकै ठाउँमा उभियौँ,मिलेर काम गर्‍यौँ,’ उनले भने ।

प्रधानमन्त्रीले प्रभावित क्षेत्रमा जतिसक्दो चाँडो सडक सञ्जाल पुनःस्थापना गर्न निरन्तर काम गरिरहेको बताए । उनले बाढीबाट प्रभावित नदी तटीय क्षेत्रमा अब पुनः बस्ती बसाउन सम्भव नहुने पनि बताए । प्रभावित क्षेत्रबाट नजिकै तर सुरक्षित स्थानमा बस्ती बसाउने गरी तयारी शुरु गरिसकेको उनले जानकारी दिए ।

‘बस्ती बसाउँदा प्रभावित मानिसहरूको रोजगारी,शिक्षा,स्वास्थ्य, संस्कृतिलगायतलाई ध्यान दिनुपर्छ र पूर्ववत् अवस्था उपलब्ध हुनुपर्छ । खेतीयोग्य जमिन जोगाउँदै वैज्ञानिक बस्ती व्यवस्थापन गर्नुपर्छ,’ प्रधानमन्त्री शाहले भने ।

यसका लागि सुरक्षित स्थानमा जग्गा पहिचान गरी संघीय सरकारलाई सिफारिस गर्न उनले स्थानीय जनप्रतिनिधिलाई आग्रह गरे ।

प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रका जनप्रतिनिधिसँगको भेटले बाढीपछिको वास्तविक अवस्था बुझ्नसमेत सहयोग पुगेको बताए ।