सोमवार, भदौ २९, २०८३

कञ्चनपुरका बाढीपीडित परिवारको दुःखमा राना युथ क्लबको साथ

धनगढीरुसुवा बाढीबाट प्रभावित कञ्चनपुरका चार परिवारलाई धनगढी उपमहानगरपालिका-१३ राजपुरस्थित राना युथ क्लबले राहत तथा आर्थिक सहयोग गरेको छ।
बाढीका कारण प्रभावित बनेका परिवारको तत्कालीन आवश्यकतालाई ध्यानमा राख्दै क्लबले खाद्यान्नसहित आवश्यक राहत सामग्री उपलब्ध गराएको हो। साथै, प्रत्येक परिवारलाई ५ हजार रुपैयाँ नगद सहयोग गरिएको क्लबले जनाएको छ। चार परिवारलाई गरी कुल २० हजार रुपैयाँ नगद प्रदान गरिएको छ।
क्लबका अनुसार लालझाडी गाउँपालिका-५ का एक परिवार तथा कृष्णपुर नगरपालिका–३ का तीन परिवारलाई उक्त राहत सहयोग उपलब्ध गराइएको हो। विपद्का कारण समस्यामा परेका परिवारलाई केही राहत पुगोस् भन्ने उद्देश्यले सहयोग अभियान सञ्चालन गरिएको क्लबले जनाएको छ।
राहत वितरण तथा प्रभावित परिवारको पहिचानमा समन्वय र सहजीकरण गरेकोमा कृष्णपुर नगरपालिका-३ का वडा अध्यक्ष खेम चौधरीप्रति क्लबले आभार व्यक्त गरेको छ।
विपद्को समयमा पीडित परिवारलाई एक्लो महसुस हुन नदिई आवश्यक सहयोग र मानवीय साथ प्रदान गर्ने उद्देश्यले राहत अभियान अघि बढाइएको राना युथ क्लबले जनाएको छ।