धनगढी । भोटेकोशी बाढीपीडितका लागि मानवीय सहयोग जुटाउने उद्देश्यले धनगढी उपमहानगरपालिका–२ मा आजदेखि राहत सहयोग संकलन अभियान सुरु गरिएको छ।
धनगढी उपमहानगरपालिका वडा नम्बर २ को आयोजनामा सुरु गरिएको राहत संकलन अभियानबारे वडा अध्यक्ष धर्मराज ओझाले जानकारी दिनुभएको हो। उहाँले विपद्को यस घडीमा बाढीपीडितलाई सहयोग पुर्याउन धनगढीका सम्पूर्ण नगरवासीलाई आफ्नो क्षमताअनुसार सहयोग गर्न आग्रह गर्नुभएको छ।
वडा अध्यक्ष ओझाले आमाबुबा, दाजुभाइ तथा दिदीबहिनी सबैलाई राहत सहयोगमा सहभागी भई विपद्मा परेका परिवारलाई मानवीय सहयोग उपलब्ध गराउन हार्दिक अनुरोध गर्नुभएको छ।
राहत संकलन अभियानमा नेपाल रेडक्रस सोसाइटी बैयाबेहडी उपशाखा र द बैयाबेहडी क्लब, धनगढी–२ ले समन्वय तथा सहकार्य गरिरहेका छन्।
भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि संकलित सहयोग उपलब्ध गराइने आयोजकले जनाएको छ। विपद्को समयमा सामूहिक सहयोग र सहकार्यबाट पीडित परिवारलाई राहत प्रदान गर्न सकिने भएकाले अभियानमा सबैको सहभागिता आवश्यक रहेको वडा कार्यालयले जनाएको छ।