काठमाडौँ । एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रमा प्रदान गर्दै आएको निःशुल्क सेवाको अवधि पुनः सात दिन थप गरेको छ।
सहज सञ्चार, खोज, उद्धार तथा राहत वितरण कार्यमा सहयोग पुर्याउने उद्देश्यले एनसेलले भदौ २० गतेदेखि भदौ २६ गतेसम्मका लागि यो सुविधा विस्तार गरेको हो।
यस निर्णयसँगै प्रभावित क्षेत्रमा थप एक हप्ता एनसेलका भ्वाइस, डेटा र एसएमएस सेवा निःशुल्क उपलब्ध हुनेछन्। यसअघि भदौ १० गते बाढी आएकै दिन एनसेलले तीन दिनका लागि निःशुल्क सेवाको घोषणा गरेको थियो। पछि त्यसलाई सात दिन थपेर भदौ १९ गतेसम्म पुर्याइएकामा अहिले फेरि अवधि थप गरिएको हो।
कठिन घडीमा सहज सञ्चार सुनिश्चित गर्न सेवा अवधि थप गरिएको एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपाङ्ग दत्ताले बताए। ‘अवरुद्ध भएका टावरमध्ये ९२ प्रतिशत पुनः सञ्चालनमा आइसकेका छन्,’ उनले भने, ‘हाम्रो यो निःशुल्क सेवाले प्रभावित समुदायलाई परिवार तथा आफन्तसँग सम्पर्कमा रहन र उद्धार तथा राहत कार्यमा खटिएका टोलीलाई समन्वय गर्न ठूलो मद्दत पुग्ने विश्वास छ।’
विपद्को समयमा सञ्चार सेवाले सूचना आदानप्रदान, आपसी समन्वय एवम् खोज, उद्धार र राहत वितरण कार्यलाई प्रभावकारी बनाउन मद्दत पुर्याउँछ। एनसेलको यस कदमले सर्वसाधारण र उद्धार टोलीबीचको सम्पर्कलाई थप सहज बनाएको छ।
बाढीका कारण एनसेलका कुल २७ वटा टावर अवरुद्ध भएकामा हाल ९२ प्रतिशत टावर पुनः सञ्चालनमा आइसकेका छन्। कम्पनीका अनुसार बिहीबार नुवाकोटको त्रिशुलीमा २५औँ टावर सञ्चालनमा ल्याइएको छ। रसुवाको घट्टेखोला टिमुरेमा रहेको एउटा टावर पूर्ण रूपमा नष्ट भएको छ भने उत्तरगया तिरुमा रहेको अर्को टावरमा हेलिकप्टरमार्फत उपकरण पुर्याएर सेवा चलाउन समन्वय भइरहेको छ।
एनसेलले विपद्का बेला सम्बन्धित निकायका जनचेतनामूलक सन्देशहरू एसएमएस, कल टोन र सामाजिक सञ्जालमार्फत प्रसार गर्दै आएको छ। साथै, बाढी गएको भोलिपल्टै एनसेल फाउन्डेसनमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोगसमेत हस्तान्तरण गरिसकिएको छ।