सोमवार, भदौ २९, २०८३

सुदूरपश्चिमको बजेट निर्माणमा नेकपा–एमालेले खटायो विज्ञ टोली

धनगढी — चालु आर्थिक वर्षको एक महिना २० दिनदेखि बजेट शून्यतामा रहको सुदूरपश्चिम प्रदेश सरकारको बजेट निर्माणमा सहजीकरण तथा मार्गनिर्देश गर्न भन्दै सत्तारुढ पार्टीहरुले केन्द्रबाट दुई जना विज्ञ पठाएका छन् ।

चालु आर्थिक वर्षको बजेट नहुँदा प्रदेश सरकार मातहतका कार्यालयले गर्नुपर्ने वार्षिक कार्यक्रम प्रभावित हुन थालेका छन् । कर्मचारीहरुले तलब पाएका छैनन्, कार्यालयहरुले प्रशासनिक खर्च उधारोमा काम चलाइरहेका छन् । अस्पतालमा औषधिको अभाव देखिन थालेको छ, मन्त्रालयहरुले कतिपय आयोजनामा अघिल्लो वर्षको कामको भुक्तानी गर्न सकिरहेका छैनन् ।

प्रदेश सरकारले बजेट निर्माणमा सहजीकरणका लागि विज्ञका रुपमा दुई जना सल्लाहकार नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले झपट बोहरा र टंकमणि शर्मालाई बजेट निर्माण सल्लाहकार नियुक्त गरेको भौतिक पूर्वाधार विकास मन्त्री ओमबिक्रम भाटले बताएका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारका संस्थापक आर्थिक मामिला मन्त्रीसमेत रहेका बोहरालाई एमालेले र पूर्वमहालेखापरीक्षक रहेका शर्मालाई नेकपाले पठाएको हो । सुदूरपश्चिममा नेकपा र एमालेको सयुक्त सरकार छ । ‘उहाँहरुलाई पार्टी केन्द्रबाटै खटाइएको बुझिएको छ । हामीले त क्याबिनेटले निर्णय गरिसकेपछि जानकारी पाएका हौं,’ नेकपाका प्रदेश इन्चार्ज भानुभक्त जोशीले भने ।