सोमवार, भदौ २९, २०८३

‘छोराको हात समातेर उनी पक्कै फर्किनेछिन्’—परिवेशको आशा

काठमाडौँ — भदौ १० गते बिहानसम्म परिवेश चिलुवालको घरमा खुसीको प्रतीक्षा थियो । आठ महिनाको गर्भ बोकेकी अनुष्का पाण्डे केही दिनमै काठमाडौं फर्कने तयारीमा थिइन् ।

दुई वर्षे छोरा आमाको काखमा खेलिरहेको थियो । परिवार नयाँ सदस्यको स्वागतको तयारीमा थियो । तर त्यही बिहान भोटेकोशी उर्लियो । अनुष्का र दुई वर्षे छोरा बेपत्ता छन् ।

तर, परिवेश अझै आशामा छन्– अनुष्का छोराको हात समातेर एक दिन ढोकामा आइपुग्नेछिन् ।

रसुवाको टिमुरे स्वास्थ्यचौकीमा अनुष्का कार्यरत थिइन् । श्रीमान् परिवेश भने केही दिनअघि मात्रै काठमाडौं फर्किएका थिए । अनुष्काको पनि केही दिनपछि काठमाडौं आउने तयारी थियो ।

बाढी आएको दिनदेखि नाबालक छोरासहित उनी सम्पर्कविहीन छिन् । दुर्गममा अरुको स्वास्थ्यमा खटिएर जीवन जोगाउन लाग्ने अनुष्काको जीवन जोगिएको छ कि छैन पत्तो छैन । कतै घाइते भएर बसिरहेकी पो छिन् कि भन्ने झल्को परिवारलाई आउँछ । घटना भएको अघिल्लो रात परिवेश र अनुष्काबीच कुराकानी भएको थियो । त्यो दिन बिहान भने कुरा हुन पाएन ।

भदौ १० मा बिहानीपख रसुवामा ठूलो बाढी आयो भन्ने खबर परिवेशले पाए । मोबाइलमा भिडियोहरू पनि आउन थाले । दर्दनाक दृश्यले मन झस्कायो । श्रीमती र बच्चाको के हालत होला, भाग्न सके कि सकेनन् होला ? मन भतभती पोल्यो । पटकपटक श्रीमतीलाई फोन गर्दा सम्पर्क भएन । कता होलिन् ? यत्रो विपत्तिमा भाग्न भ्याएकी होलिन् कि भ्याइनन् होलिन् ? विचरा आठ महिनाको गर्भको शिशु, दुई वर्षे बच्चा बोकेर कसरी दौडिन् होलिन् ? आफ्नो प्राणभन्दा प्यारो बच्चालाई जोगाउन कति प्रयास गरेकी होलिन् ? यी र यस्तै प्रश्नको घेरामा थियो उनको मन पनि ।