बुधबार, भदौ ३१, २०८३

१० लाखबाट १० करोडसम्मको यात्रा : ‘हनुमान अंश’ले २९औँ दिनमा मार्‍यो बाजी

काठमाडौँ — फिल्म ‘हनुमान अंश’ हेर्न यतिबेला भारतमा दर्शकको चाप ‘दिन दुगुना रात चौगुना’ को रफ्तारमा बढिरहेको छ । रिलिजको पहिलो दिन घरेलु बक्सअफिसमा मात्र १० लाख भारुको कमाई गरेको विशाल चतुर्वेदी निर्देशित यस फिल्मले प्रदर्शनको २९ औं दिन शुक्रबार झन्डै १० करोड भारु कमाएको छ । जून रकम पूरा फिल्मको बजेटको झन्डै पाँच गुणा हो । पाँचौ सातामा चलिरहेको शोभिनव सत्य स्टारर ‘हनुमान अंश’ एक सय करोड क्लबमा प्रवेश गर्ने पनि निश्चित भएको छ । शुक्रबारसम्म ९८ करोड भारु कमाइ गर्दै यो फिल्म ‘स्लीपर हिट’ भईसकेको छ ।

‘यो फिल्म होइन, सत्संग हो’

प्रसिद्ध आध्यात्मिक सन्त नीम करोली बाबाको शुरुवाती जीवन, भक्तिभाव र आध्यात्मिक यात्रामा आधारित भई बनेको यस बायोपिकलाई यतिबेला दर्शकले केवल फिल्मी मनोरन्जनका रूपमा नहेरी आध्यात्मिक आनन्दका लागि बढि हेरिरहेका छन् । भारतीय अभिनेत्री कंगना रनौतले त आफ्नो इन्स्टाग्राममा एक पोष्ट लेख्दै भनेकी छन्, ‘‘हनुमान अंश’ फिल्म मात्र होइन, यो एक साक्षात सत्संग हो । यसमा नीम करोली बाबाका प्रत्यक्ष अनुभवहरूको सुन्दर कथा बुनिएको छ ।’ भारतीय जनता पार्टीकी सांसद समेत रहेकी रनौतले त थेरापी जान छोडेर सिनेमा हलमा गएर यो फिल्म हेर्न समेत जनतालाई सुझाव दिएकी छन् ।