सोमवार, भदौ २९, २०८३

अस्पतालमा उपचाररत बाढीका घाइते कति ?

भदौ १० गते रसुवाको भोटेकोशी हुँदै आएको लेदोसहितको बाढीमा घाइते भएर उपचाररत २५२ जना डिस्चार्ज भएका छन् । १९ वटा स्वास्थ्य संस्थामा ३२९ जना उपचाररत रहेकोमा २५२ जना डिस्चार्ज भएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाईले जनाएको छ । इकाईका अनुसार ४३ जना उपचाररत छन् । उपचारको क्रममा चार जनाको निधन भएको छ ।

भोटेकोशीमा आएको बाढीपछि घाइतेहरुको रसुवा अस्पताल, त्रिशुली अस्पताल, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, राष्ट्रिय ट्रमा सेन्टर, श्री वीरेन्द्र अस्पताल, त्रिवि शिक्षण अस्पताल, राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल, नेपाल एपीएफ अस्पताल, मनमोहन मेमोरियल शिक्षण अस्पताल, शुभम इन्टरनेशनल अस्पताल, ग्रीनसिटी अस्पताल, ह्याम्स अस्पताल, चिरायु राष्ट्रिय अस्पताल, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, बी एण्ड बी अस्पताल, धादिङ अस्पतालमा उपचार भएको थियो ।

ट्रमा सेन्टरमा १०, वीरेन्द्र अस्पतालमा चार, शिक्षण अस्पतालमा १८, वीर अस्पतालमा दुई, स्त्रीरोग अस्पतालमा तीन, एपीएफ अस्तालमा एक, ग्रीनसिटीमा एक, चिरायुमा दुई, ग्राण्डीमा एक र बी एण्ड बीमा एक घाइतेको उपचार भइरहेको छ ।