भारतको उत्तर प्रदेशस्थित सिङ्घाही प्रहरी चौकीअन्तर्गत पर्ने सिङ्घा कलाँ गाउँमा चार वर्षीया बालिकामाथि बलात्कार गरेको आरोप लागेका व्यक्तिको घरमा प्रशासनले डोजर चलाएको छ।
कारबाहीका क्रममा सिङ्घाही प्रहरी, प्रहरी बल तथा राजस्व विभागका अधिकारी–कर्मचारी घटनास्थलमा उपस्थित थिए। बालिकामाथि बलात्कारको घटना सार्वजनिक भएपछि स्थानीयस्तरमा आक्रोश बढेको थियो।
घटनापछि प्रहरीले आरोपितलाई नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अघि बढाएको छ। बालिकाको स्वास्थ्य अवस्था गम्भीर रहेकाले थप उपचारका लागि उनलाई लखनउ पठाइएको बताइएको छ।
प्रशासनले डोजर चलाउँदा सुरक्षा व्यवस्था कडा पार्दै ठूलो संख्यामा प्रहरी परिचालन गरेको थियो। राजस्व विभागको टोलीले आवश्यक प्रशासनिक प्रक्रिया पूरा गरेपछि घरमा डोजर चलाइएको हो। कारबाही हेर्न घटनास्थलमा स्थानीयको भीडसमेत लागेको थियो।
संवाददाता : चन्द्र मोहन, सिङ्घाही