धनगढी । बैतडीको पुर्चौडी नगरपालिका–९ निवासी डम्बरदत्त जोशीकी श्रीमती हिरादेवी जोशी लामो समयदेखि बिरामी परेपछि काठमाडौँका विभिन्न ठूला अस्पतालमा उपचाररत थिइन्। फोक्सोसम्बन्धी निमोनियाबाट ग्रसित उनको स्वास्थ्य अवस्था गम्भीर बनेपछि काठमाडौँका चिकित्सकहरूले उपचार प्रक्रिया थप अघि बढाउन कठिन हुने भन्दै घर लैजान सुझाव दिएका थिए।
त्यसपछि उनका छोरा वीरेन्द्रराज जोशीले काठमाडौँमा उपचारमा थप खर्च हुने र बिरानो ठाउँमा राख्नुभन्दा धनगढी लैजान उचित हुने ठानी आमालाई धनगढी ल्याएका थिए। २०८३ साल श्रावण २४ गते हिरादेवीलाई धनगढीस्थित सारथी अस्पतालमा ल्याइएको थियो। अस्पताल पुग्दा उनको अवस्था निकै गम्भीर रहेको र होससमेत नभएको परिवारले जनाएको छ।
सारथी अस्पतालको आईसीयूमा राखेर उपचार सुरु गरिएपछि भने उनको स्वास्थ्य अवस्थामा क्रमिक सुधार हुँदै गएको परिवारले जनाएको छ। उपचारपछि अहिले हिरादेवी पूर्ण रूपमा होसमा आएकी छन् भने आफ्नै खुट्टामा हिँडेर घर फर्किने अवस्थामा पुगेकी छन्।
घर फर्किने क्रममा हिरादेवीले सारथी अस्पतालको उपचार तथा सेवाप्रति खुसी व्यक्त गर्दै चिकित्सक, नर्स, व्यवस्थापनसहित अस्पताल परिवारलाई धन्यवाद दिइन्। उनले उपचारका क्रममा पाएको सेवा राम्रो लागेको बताएकी छन्।
हिरादेवीका छोरा वीरेन्द्रराज जोशीले काठमाडौँमा उपचारपछि आफूहरूले आमाको स्वास्थ्यप्रति आशा लगभग मारिसकेको बताए। तर धनगढी ल्याएर सारथी अस्पतालमा उपचार सुरु गरेपछि आमाको स्वास्थ्यमा आश्चर्यजनक सुधार आएको उनको भनाइ छ।
उनले भने, “हामीले त आस मारिसकेका थियौँ। अन्तिम अवस्था सम्झिएर आमालाई धनगढी ल्याएका हौँ। सारथी अस्पतालमा उपचार सुरु भएपछि अहिले आमा निको हुनुभएको छ। आज आफ्नै खुट्टाले हिँडेर घर जाँदैछौँ। हाम्रो परिवार निकै खुसी छ।”
जोशी परिवारले हिरादेवीको उपचारमा संलग्न चिकित्सक, नर्स, व्यवस्थापक तथा सारथी अस्पतालका सम्पूर्ण कर्मचारीलाई विशेष धन्यवाद व्यक्त गरेको छ।
गम्भीर अवस्थामा अस्पताल पुगेकी बिरामी उपचारपछि स्वस्थ भएर आफ्नै घर फर्किएपछि परिवारमा खुसी छाएको छ।