बुधबार, भदौ ३१, २०८३

सुरुङमा फसेकाको जीवन बच्ने आशा अझै जीवित : सांसद न्यौपाने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद श्रीराम न्यौपानेले सुरुङभित्र फसेका ६ जना व्यक्तिहरूको जीवितै उद्धार हुने सम्भावना अझै बाँकी रहेको बताएका छन्। बिहीबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले आशा नमार्न र उद्धारको प्रयास निरन्तर जारी राख्न आग्रह गरेका हुन्।

सुरुङको मुखसम्म अस्थायी सडक पुर्‍याएर चौबीसै घण्टा लेदो पन्छाउने योजना बनाइएको भए पनि बिजुली जडानमा भएको ढिलाइ, पहिरो र दलदलका कारण सडक निर्माणमा केही ढिलाइ भएको थियो।

यद्यपि बिहीबार थप दुई वटा उत्खनन यन्त्र घटनास्थल पुगेका र सडक सुरुङको मुखबाट करिब ४० मिटर मात्र टाढा रहेकाले उद्धार कार्य तीव्र हुने विश्वास उनले व्यक्त गरेका छन्। हाल नेपाली सेना र भारतीय सेनाको संयुक्त टोलीले हाते प्रविधि, नियन्त्रित विस्फोट र सडक विस्तारमार्फत उद्धार प्रयासलाई निरन्तरता दिइरहेका छन्।

आफ्नो १२ वर्षको विस्फोटसम्बन्धी अनुभवको आधारमा सांसद न्यौपानेले सावधानीपूर्वक गरिने नियन्त्रित विस्फोटले उद्धार कार्यलाई रोक्ने नभई अझ गति दिने तर्क प्रस्तुत गरेका छन्।

साथै, प्रतिसेकेन्ड ९ लिटर पानी चुहिएको आधारमा सुरुङभित्र २४ हजार घनमिटर पानी चापमा थुनिएको हुन सक्ने आयोजनाका इन्जिनियरहरूको चासोलाई उनले प्राविधिक रूपमा खण्डन गरेका छन्।

जलविद्युत् गृहको ६० मिटर लम्बाइ, २० मिटर चौडाइ र २५ मिटर उचाइको संरचना अनुसार लेदो र पानी थिग्रिए पनि माथिल्लो भागमा बढीमा ८ मिटरसम्म खाली ठाउँ रहने र हावाको दबाबका कारण ठूलो परिमाणमा पानी थुनिएर नबस्ने भएकाले भित्र फसेकाहरूको ज्यान जोगिएको हुन सक्ने उनको दाबी छ।