बुधबार, भदौ ३१, २०८३

वाडीको तिब्र बहावबीच पलियामा नेपाली यात्रुु अलपत्र

पलियाकलाँ, (खीरींं) — भारतको पलिया–दुधवा बंसीनगर सडकखण्डमा बाढीको पानीको तीव्र बहाव सडकबाटै बग्न थालेपछि आवतजावत जोखिमपूर्ण बनेको छ। जोखिमपूर्ण अवस्था हुँदाहुँदै पनि केही युवाहरूले ज्यानको पर्वाह नगरी बाढीको तीव्र बहाव पार गरिरहेका छन्।
बंसीनगर प्रहरी चौकी आसपास नेपाली यात्रुहरूको ठूलो भीड लागेको छ। आवतजावतमा रोक लगाइएको तथा सावधानी अपनाउन भनिएको अवस्थामा समेत ठूलो सङ्ख्यामा नेपाली यात्रु र सवारीसाधन त्यहाँ पुगेका छन्।
यति ठूलो सङ्ख्यामा यात्रुहरू जम्मा भए पनि उनीहरूको सुरक्षाका लागि आवश्यक व्यवस्थापन तथा निगरानी पर्याप्त देखिएको छैन। केही सवारीसाधन सञ्चालकहरूले नेपाली यात्रुहरूलाई उनीहरूका सामानसहित सडकको किनारमा छाडेर हिँड्ने गरेको समेत बताइएको छ।
बाढीका कारण नेपाली महिला, बालबालिका, युवा तथा वृद्ध यात्रुहरू घर फर्किन नपाउने चिन्तामा परेका छन्। जोखिमपूर्ण अवस्थामा यात्रुहरूको ठूलो भीड जम्मा हुँदा कुनै अप्रिय घटना भए त्यसको जिम्मेवारी कसले लिने भन्ने प्रश्नसमेत उठेको छ।
सम्बन्धित प्रशासन तथा सुरक्षा निकायले तत्काल घटनास्थलमा आवश्यक सुरक्षा व्यवस्था मिलाई यात्रुहरूको सुरक्षित आवतजावत सुनिश्चित गर्नुपर्ने आवश्यकता देखिएको छ। साथै, बाढीको तीव्र बहाव रहेको क्षेत्रमा जोखिम मोलेर यात्रा नगर्न यात्रुहरूलाई आग्रह गरिएको छ