जुम्ला । बिना प्रमाण व्यवसायीलाई पक्रेर थुनेको विरोधमा जुम्लामा व्यवसायीहरुले विरोध प्रदर्शन गरेका छन् । पहिले खाना पकाउने एलपीजी ग्यास लुकाएको अभियोगमा पक्राउ परेका चन्दननाथ नगरपालिका–७ बोहरागाउँका ३६ वर्षीय कर्मा बूढालाई जिल्ला प्रहरी कार्यालयले रिहा गरेको छ ।
ग्यास लुकाएको अभियोगमा जिल्ला प्रहरी कार्यालय जुम्लाले उनलाई अस्ति बिहीबार पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा कुनै प्रमाण फेला नपरेपछि हिजो रिहा गरिएको हो ।
बूढालाई बिना प्रमाण पक्राउ गरिएको भन्दै उद्योग वाणिज्य संघका अध्यक्ष दिलबहादुर रोकायको नेतृत्वमा करिब ३० जना व्यवसायीले जिल्ला प्रशासन कार्यालय जुम्लाअगाडि हिजो प्रदर्शन गरेका हुन्। व्यवसायीहरूले प्रमाणबिना पक्राउ गर्ने कार्यप्रति असन्तुष्टि जनाउँदै घटनाबारे निष्पक्ष छानबिन तथा व्यवसायीको सुरक्षाको माग गरेका छन्।